१७ फागुन, काठमाण्डौ।
काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा ११ जना घाइते भएका छन् । बुधबार साँझ करिब सात बजे महानगरको टोली फुटपाथ व्यवसाय हटाउन जाँदा दुई पक्षबीच झडप भएको हो । उक्त झडपमा परी छ जना फुटपाथ व्यवसायी र पाँच जना नगर प्रहरी घाइते भएका छन् । नगर प्रहरी उपरीक्षक मनोज लामिछानेको टोलीले धरहरा अगाडि बसेका फुटपाथ व्यवसायी हटाउने क्रममा व्यावसायीले फुटपाथ छाड्न नमानेपछि उक्त घटना भएको नगर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते प्रहरीहरूको वीर अस्पतालमा उपचार भइरहेको भने घाइते फुटपाथ व्यवसायीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । महानगर प्रहरीले धरहराअगाडि राति ९ बजेअघि व्यवसाय सुरु नगर्न आग्रह गरेको तर फुटपाथ व्यवसायीले साँझ ७ बजे नै पसल राख्न सुरु गरेकाले हटाउन खोज्दा प्रहरी टोलीमाथि नै आक्रमण भएको दाबी गरेको छ । उता नेपाल स्वरोजगार व्यापार श्रमिक संघले भने काठमाडौँ महानगर प्रहरीका डीएसपी मनोज लामिछाने नेतृत्वको प्रहरी टोलीले मजदुरमाथि आक्रमण गरेको दाबी गरेको छ ।
विज्ञप्ति जारी गर्दै संघले भनेको छ, ‘काठमाडौँ महानगर प्रहरीका डीएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरीहरूले आज (बुधबार) साँझ सवा ८ बजेको समयमा काठमाडौँको सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरूलाई आक्रमण गरी घाइते बनाउनुका साथै, सामानसमेत लुटपाट गरेर मजदुरहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’