२७ कार्तिक , काठमाण्डौ ।
उत्तर कोरियाली राज्य–समर्थित ह्याकरहरूले नक्कली भिडियो कल प्रयोग गरी सर्वसाधारणको पहिचान चोरी गर्दै ४० करोड अमेरिकी डलरभन्दा बढीको क्रिप्टोकरेन्सी लुटेका छन्। अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) का अनुसार पछिल्लो १८ महिनामा ९०० भन्दा बढी व्यक्तिहरू यस ठगीको सिकार बनेका छन्।
एफबीआईले यस साइबर आक्रमणको तरिकालाई ’फेसस्टिलर’ नाम दिएको छ। एफबीआईका साइबर निर्देशक ब्रेट लेदरम्यानले उत्तर कोरियाली शासनले आफ्नो अवैध हतियार कार्यक्रम सञ्चालन गर्न यस्ता ठूला क्रिप्टोकरेन्सी चोरीबाट प्राप्त रकममा निर्भर रहने गरेको बताएका छन्।

विश्वको सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज ’बाइनान्स’ बाट नक्कली जागिरको अन्तर्वार्तामार्फत ६.३ अर्ब डलर चोरी भएको खुलासा भएको एक हप्तापछि यो नयाँ तथ्य बाहिर आएको हो। अमेरिकी कानुन कार्यान्वयन निकायहरूले बाइनान्स ह्याकमा पनि उत्तर कोरियाली समूहकै संलग्नता रहेको ठहर गरेका छन्, यद्यपि प्योङयाङले उक्त आरोप अस्वीकार गर्दै आएको छ।
अमेरिकी न्याय विभाग र एफबीआईका अनुसार ’फेसस्टिलर’ ह्याकरहरूले विशेषगरी क्रिप्टोकरेन्सी, वेब–थ्री र ओपन–सोर्स सफ्टवेयर विकासको क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई लक्षित गर्छन्। ठगीका लागि ह्याकरहरूले पहिले नक्कली वा ह्याक गरिएका सामाजिक सञ्जाल खातामार्फत पीडितलाई जुम, माइक्रोसफ्ट टिम्स वा गुगल मिट जस्तै देखिने नक्कली प्लेटफर्ममा भिडियो कलका लागि निम्तो दिन्छन्।
कल सुरु भएपछि ह्याकरहरूले पीडितले चिनेका पुराना पीडितहरूको पहिले नै रेकर्ड गरिएको भिडियो चलाउँछन्, जसले गर्दा कल वास्तविक जस्तै देखिन्छ। तर, कलको क्रममा अडियो (आवाज) नआएको जस्तो प्राविधिक समस्या देखाइन्छ। लगत्तै स्क्रिनमा अडियो ’फिक्स’ (मर्मत) गर्न एउटा लिङ्कमा क्लिक गर्न सन्देश आउँछ।
उक्त लिङ्कमा क्लिक गर्नेबित्तिकै पीडितको डिभाइसमा मालवेयर (भाइरस) डाउनलोड हुन्छ। यसैमार्फत ह्याकरहरूले पीडितको कन्ट्याक्ट लिस्ट, एप्स र डिजिटल वालेटमा पहुँच बनाउँछन्। ह्याकरहरूले यस्ता भिडियो कलहरू गोप्य रूपमा रेकर्ड गरी पछि अरू नयाँ व्यक्तिहरूलाई झुक्याउन प्रयोग गर्ने गरेको अधिकारीहरूले बताएका छन्।
एफबीआईको लस एन्जलस कार्यालयका सहायक निर्देशक प्याट्रिक ग्रान्डीले यो प्रविधि अत्यन्तै प्रभावकारी रहेको र अनुभवी तथा सुरक्षाप्रति सचेत प्रविधि प्रयोगकर्तासमेत यसको जालमा पर्न सक्ने चेतावनी दिएका छन्। ’यसले परिचित भिडियो कन्फरेन्स प्लेटफर्म र व्यक्तिगत सम्बन्धप्रतिको विश्वासको दुरुपयोग गर्छ,’ उनले भनेका छन्।
दुई साता अघि अमेरिकी ब्लक चेन विश्लेषण कम्पनी टीआरएम ल्याब्सले क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट भएको ६.३ अर्ब अमेरिकी डलरको चोरीमा उत्तर कोरियाली ह्याकरहरुको संलग्नता रहेको दाबी गरेको थियो । ६ दशमलव ३ अर्ब डलरको चोरीलाई इतिहासकै सबैभन्दा ठूलो क्रिप्टो चोरी हो ।
टीआरएम ल्याब्सले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो चोरी उत्तर कोरियाको विशेष तथा दक्ष ह्याकिङ समूह ‘ट्रेडर ट्रेटर’ले गरेको हो । रिपोर्टमा टीआरएम ल्याब्सले भनेको छ, ‘ह्याकरहरुले १० वटा फरक–फरक ब्लक चेनमा रहेका बाइनान्सका वालेटबाट करिब ६।३६ अर्ब डलर रकम सारेका छन् । अधिकांश रकम २० मिनेटभित्र ट्रान्सफर गरिएको थियो । अफ–चेन र अन–चेन प्रमाणहरुका आधारमा हामी पूर्ण विश्वास्त छौं कि यो काम उत्तर कोरियाको ट्रेडर ट्रेटरले नै गरेको हो ।’
यसअघि सन् २०२५ मा बाइबिटबाट आएको १.५ अर्ब डलरको चोरी दोस्रो ठूलो चोरी हो । बाइनान्सले पनि प्रारम्भिक अनुसन्धान उदृद गर्दै एक जना डेभअप्स इन्जिनियरको ल्यापटप ह्याक भएपछि ह्याकरले प्रणालीमा अनाधिकृत पहुँच बनाएको बताएको छ । बाइनान्सले वालेटको प्राइभेट की भने लिक नभएको दाबी गरेको छ ।
हाल चोरी भएकोमध्ये ३ अर्ब डलर रोक्का गरिएको छ । कम्पनीका ग्राहकको कुनै पनि नोक्सानी आफ्नो आपतकालीन कोष र कम्पनीको आफ्नै रकमबाट शोधभर्ना गरिदिने प्रतिबद्धता जनाउँदै सुरक्षा निकायहरुसँग मिलेर अनुसन्धान गरिरहेको बताएको छ ।
टीआरएम ल्याब्सका अनुसार ह्याकरहरुले इथेरियम ब्लक चेनमा ‘ईआईपी ७७०२’ कोडको प्रयोग गरेर पहिले नै डिजिटल हस्ताक्षर जुटाएर बाइनान्सको ‘हट वालेट’लाई आफ्नो नियन्त्रणमा लिएका थिए । सोही समयमा अन्य ९ वटा ब्लक चेनबाट समेत साधारण हस्ताक्षर गरिएको ट्रान्सफरमार्फत् रकम ह्याकरको खातामा सारिएको थियो ।
चोरी लगत्तै टेथर, सर्कल, रिपल र अन्य निकायहरुले करिब २.७ अर्ब डलर बराबरको क्रिप्टो सम्पत्ति रोक्का गरिदिएका थिए । तर, ती कोषहरु रोक्न हुनुअगावै ह्याकरहरुले द्रुत गतिमा युएसडिटी बिक्री गरेर तथा ऋण लिएर इथेरियम र बिटक्वाइनमा रुपान्तरण गरिसकेका थिए ।
हाल ह्याकरहरुको नियन्त्रणमा कसैले रोक्न नसक्ने गरी ४ लाख २० हजार बढी इथर र १८ हजार २७० बिटक्वाइन पुगिसकेको छ । टीआरएम ल्याब्सका अनुसार यो शैलीको चोरी यसअघि उत्तर कोरियाले गरेका अन्य ठूला क्रिप्टो चोरीहरुसँग ठ्याक्कै मेल खान्छ ।
यसअघि भएका बाइबिट ह्याक र अप्रिल २०२६ को केल्पडिएओ ह्याकमा पनि यही शैली अपनाइएको थियो । घटना हुनुभन्दा धेरै अघिदेखि तयारी थाल्नु, टोर्नाडो क्यासमार्फत् रकम जुटाउनु, पहिले नै हस्ताक्षरहरु संकलन गरेर एकैपटक चोरी र तुरुन्तै विभिन्न प्लेटफर्महरुमार्फत् सम्पत्ति शुद्धिकरण गर्नु उत्तर कोरियाली ह्याकरहरुकै पहिचान मानिन्छ ।



