२७ कार्तिक , काठमाण्डौ ।
माइक्रोसफ्टको विश्वव्यापी सेवा अवरुद्ध हुँदा बिहीबार हजारौँ प्रयोगकर्ताले समस्या सामना गर्नुपरेको छ। माइक्रोसफ्ट ३६५, आउटलुकलगायतका विभिन्न सेवा करिब पाँच घण्टासम्म प्रभावित भएका हुन्। कम्पनीले प्रभावित सर्भरहरू पुनः सञ्चालनमा ल्याउन काम गरिरहेको जनाएको छ।
पछिल्लो समय सेवामा केही सुधार देखिएको छ। कम्पनीका अनुसार प्रभावित सर्भरमध्ये केहीलाई पुनः सञ्चालनमा ल्याइएको छ र ती हालसम्म स्थिर अवस्थामा छन्। साथै, सेवा अवरुद्ध हुने समस्या कम गर्न प्रयोगकर्ताको ट्राफिकलाई वैकल्पिक रुटबाट पठाउन थालिएको छ।

बिहीबार भएको ठूलो विश्वव्यापी अवरोधका कारण माइक्रोसफ्ट ३६५ सुइटमा पहुँच प्रभावित भएको थियो। यसबाट आउटलुक, टिम्स, वर्ड, एक्सेल, पावरपोइन्ट, सेयरपोइन्ट र वनड्राइभ प्रयोगकर्ताले समस्या भोग्नुपरेको थियो। माइक्रोसफ्टले एक अपडेट जारी गर्दै प्रभावित सर्भरमध्ये केहीलाई पुनः सेवामा फर्काइएको र ती हालसम्म स्थिर रहेको जनाएको छ।
कम्पनीका अनुसार ट्राफिक तथा कनेक्सनलाई वैकल्पिक मार्गबाट पठाएपछि सेवामा सुधार देखिएको हो। माइक्रोसफ्टका एक प्रवक्ताले यस घटनामा साइबर आक्रमण भएको कुनै संकेत फेला नपरेको बताएका छन्। अमेरिकी समयअनुसार बिहीबार दिउँसो करिब १ बजे माइक्रोसफ्ट ३६५ अन्तर्गतका सेवामा समस्या देखिएको थियो।
विश्वभरका प्रयोगकर्ताबाट सेवामा पहुँच नपुगेको भन्दै करिब एक लाख ३० हजार गुनासा दर्ता भएका थिए। वर्ड, एक्सेल, पावरपोइन्ट, आउटलुक, टिम्स, सेयरपोइन्ट र वनड्राइभमा समस्या देखिएको थियो। सेवा अवरुद्ध भएको विवरण सङ्कलन गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार प्रयोगकर्ताले आउटलुक खोल्न, इमेल पठाउन तथा प्राप्त गर्न र इनबक्स लोड गर्न समस्या भएको गुनासो गरेका थिए।
त्यस्तै, हजारौँ प्रयोगकर्ताले टिम्स, माइक्रोसफ्टको एआई सहायक कोपाइलट र माइक्रोसफ्ट ३६५ का अन्य एप्लिकेसनमा समेत अवरोध आएको जानकारी दिएका थिए। माइक्रोसफ्टले प्रारम्भिक अनुसन्धानका क्रममा आफ्नो पूर्वाधारका केही हिस्सामा अत्यधिक लोड बढ्नु नै समस्याको सम्भावित कारण रहेको पत्ता लगाएको जनाएको छ।
स्वचालित स्वास्थ्य परीक्षणमा असफल भएपछि केही सर्भर अचानक अनुपलब्ध भएका थिए। त्यसपछि बाँकी सर्भरमा ट्राफिकको चाप बढेको थियो। समस्या समाधानका लागि माइक्रोसफ्टले प्रभावित सर्भरको केही हिस्सामा वैकल्पिक स्वास्थ्य परीक्षण विधि अपनाएको थियो।
उक्त विधिबाट केही सर्भर पुनः सञ्चालनमा ल्याउन सफल भएपछि कम्पनीले सोही प्रक्रिया अन्य प्रभावित सर्भरमा पनि व्यापक रूपमा लागू गर्न थालेको जनाएको छ। विशेषगरी विभिन्न देशमा कार्यालय रहेका अन्तर्राष्ट्रिय संस्थाहरूका लागि सहकर्मीसँग सम्पर्क र सहकार्य गर्न माइक्रोसफ्ट ३६५ महत्त्वपूर्ण माध्यम बनेको छ ।
माइक्रोसफ्टका अनुसार सेवा अवरुद्ध हुँदा प्रयोगकर्ताले केही फाइल तथा क्यालेन्डर एपमा रहेका विवरण हेर्न नसक्ने समस्या भोगेका छन् । माइक्रोसफ्टको एआई प्लेटफर्म कोपाइलटले पनि अपेक्षाअनुसार काम नगर्न सक्ने कम्पनीले जनाएको छ । माइक्रोसफ्टले एक्समार्फत दिएको जानकारीअनुसार केही सर्भर अप्रत्याशित रूपमा अनुपलब्ध भएपछि बाँकी सर्भरमा अत्यधिक दबाब परेको थियो ।
यही कारण कम्पनीका विभिन्न सेवामा समस्या देखिएको हो । माइक्रोसफ्टको सेवा अवरुद्ध हुँदा त्यसको प्रणाली प्रयोग गर्ने अन्य कम्पनीसमेत प्रभावित भएका छन् । यसबाट एआई क्षेत्रका प्रमुख कम्पनीहरू एन्थ्रोपिक र ओपनएआई पनि प्रभावित भएको समाचारमा उल्लेख छ ।
च्याटजीपीटी निर्माता ओपनएआईले पनि माइक्रोसफ्टका सेवासँगको आफ्नो कनेक्सनमा समस्या देखिएको जनाएको छ । कम्पनीले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ । उक्त समस्याका कारण ओपनएआईका केही टुलले अपेक्षाअनुसार काम नगरेको जनाइएको छ ।
माइक्रोसफ्टले गत महिना पनि आफ्नो क्लाउड प्लेटफर्ममा सेवा अवरोध भएको जानकारी दिएको थियो । त्यसबेला कम्पनीका विभिन्न उत्पादकत्वसम्बन्धी टुलसँगै विश्वभरका अन्य कम्पनीका सेवा प्रभावित भएका थिए ।



