२० फागुन , काठमाण्डौ ।
काीर्तिपुरमा जारी टी–२० त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ। नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको आजको अन्तिम खेल वर्षाले रद्द भएसँगै फाइनलमा भिड्ने टिमको टुंगो लागेको हो। अब नेपाल र नेदरल्यान्ड्सबीच मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा उपाधि भिडन्त हुनेछ।
अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट पाँच अंक जोड्दा नेपालको चार अंक छ। नामिबियाले भने तीन अंक मात्र जोड्न सफल भयो। लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको सुरूवाती दुई खेल गुमाउँदा पछिल्ला दुई खेलमा जित निकालेको थियो। आइतबार नामिबिया र नेदरल्यान्ड्सबीचको खेलको पहिलो इनिङ्ग्सको १५ ओभर सकिदा वर्षाले रद्द भयो।
पहिले ब्याटिङ गरेको नामिबियाले १५ ओभरमा ४ विकेटको क्षतिमा ९८ रन जोड्दा खेल वर्षाले रोकिएको थियो। त्यसपछि खेल सम्भव नभएपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका हुन् । यसअघि हिजो मात्रै नेपाल नेदरल्यान्ड्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । उनलाई गुल्सन झाले ३६ बलमा ३८ रन बनाएर राम्रो साथ दिए ।
नेपालका लागि प्रतिश जिसीले घातक बलिङ गर्दै ३ विकेट लिए यस्तै करण केसीले २ विकेट तथा दीपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए । अब नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल खेल मंगलबार त्रिभुवन विश्वविद्यालयको मैदानमा खेलिनेछ ।