विराटनगर,भदौ २८
विराटनगर आँखा अस्पतालले आज १२ औ वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । बार्षिकोत्सवका अवसरमा अस्पतालले मरणोपरान्त आँखा दान गर्ने व्यक्तिका परिवारलाई सम्मान गरेको छ । यसैगरी अस्पताललाई आर्थिक र सामाजिक रुपमा सहयोग गर्ने रविन्द्र चौधरीलाई नेपाल नेत्र ज्योती संघका महासचिव श्यामकुमार पोखरेलले सम्मान गरे ।
बार्षिकोत्सवका अवसरमा खेलाइएका विभिन्न खेलकुदमा उत्कृष्ट हुनेहरुलाई समेत पुरस्कृत गरिएको थियो । अस्पतालका निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर संजय सिंहले अस्पतालले १२ बर्षको अवधिमा २५ लाख ८३ हजार बिरामीको चेकजाँच गरेको जानकारी दिए ।
यस्तै ४ लाख ८१ हजारको शल्यक्रिया गरिएको बताए । उनले दृष्टिविहीन हुनुको मुख्य कारण मोतियाबिन्दु भएको बताए । उनले विराटनगर आँखा अस्पतालले सन् २०१७ देखि आधुनिक रोबोटिक प्रविधियुक्त जेप्टो फेको सर्जरी भित्र्याएको जानकारी दिए ।
जेप्टो फेको सर्जरीमा लेन्स राख्नका लागि क्याप्सुल र ब्यागमा गोलाकार प्वल रोबोटिक माध्यमबाट बनाउने गरिन्छ । कार्यक्रममा सामाजिक विकास मन्त्रालय १ नम्बर प्रदेशका स्वास्थ्य निर्देशक भोगेन्द्र डोटेल, अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष विजयहरि शर्मा, सदस्य राजन श्रेष्ठ, पूर्व सांसद तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदमनारायण चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।