३ चैत ,एजेन्सी ।
पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा अल नासरले साउदी प्रो लिगमा महत्वपूर्ण जित दर्ता गरेको छ । अल नासरले घरेलु टोली अल अहलीमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै महत्जवूर्ण ३ अंक बटुलेको हो । अल नासरको जितमा रोनाल्डोले ६८औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।
किङ अब्दुल्लाह स्पोर्ट्स सिटी जेदाहमा शुक्रबार राति भएको खेलको ४२औं मिनेटमा रोनाल्डोले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा अल नासरले अग्रता लिन सकेन । ५७औं मिनेटमा अल अहलीका रोबर्टाे फिर्मिनोले गोल गरेपनि उक्त गोलले पनि भिएआरबाट मान्यता पाएन ।
६३औं मिनेटमा रोजर इवानेजले पेनाल्टी बक्समा सामी अल नाजेइलाई फउल गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै अल नासरलाई पेनाल्टी प्रदान गर्दा रोनाल्डो चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा अल नासर विजयी हुन सफल भयो । यस जितले दोस्रो स्थानमा रहेको अल नासरको २४ खेलबाट ५६ अंक पुगेको छ ।
अल नासर शीर्षस्थानको अल हिलालसँगै ९ अंकले पछि छ । अल हिलालले एक खेल कम खेलेको छ । पराजित अल अहली २४ खेलबाट ४७ अंक जोडेर तेस्रो स्थानमा यथावत छ । प्रो लिगकै अर्काे खेलमा अल ताई र अल इत्तिफाक र अल फाया र अल रियादले समान १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।