आइतबारदेखि पश्चिमी वायु सक्रिय हुने, धानबाली जोगाउन किसानलाई सुझाव

२८ कात्तिक २०८३, शनिबार
Share this
804shares

२८ कार्तिक , काठमाण्डौ ।

Advertisement

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा आइतबारदेखि यसको प्रभाव थप बढ्ने र देशका विभिन्न भूभागमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । विशेषगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने भएकाले किसानलाई धानबाली सुरक्षित राख्न सुझाव दिइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बादल लागेको छ । शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहने भए पनि आइतबारदेखि पश्चिमी वायुको प्रभाव बढ्ने अनुमान गरिएको छ ।

Advertisement

मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार आइतबारदेखि पश्चिमी वायुको प्रभावका कारण विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपात हुन सक्छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म फैलिने सम्भावना छ ।

त्यस्तै, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि छिटपुट वर्षा हुन सक्ने उनले जानकारी दिइन् । पश्चिमी वायुको प्रभावका कारण वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

यद्यपि, अहिले देखिएको मौसमी प्रणालीले देशभर व्यापक प्रभाव पार्ने वा भारी वर्षा गराउने सम्भावना भने नरहेको पोखरेलले बताइन्। पहाडी क्षेत्रमा मध्यमसम्म वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमसम्म हिमपात हुन सक्ने उनको अनुमान छ ।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो विवरणअनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ ।

मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ । सम्भावित वर्षा र असिनाबाट खेतमा काट्न बाँकी रहेको धानबाली तथा काटेर सुकाउन राखिएको धान र परालमा क्षति पुग्न सक्ने भन्दै मौसमविद्ले किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रवक्ता पोखरेलले आइतबारदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएकाले किसानले मौसमको अवस्था हेरेर धानबाली भित्र्याउन र काटिसकेको धान तथा पराल सुरक्षित स्थानमा राख्न सुझाव दिएकी छन् । उनका अनुसार वर्षा र असिनाले विशेषगरी खेतमा काट्न बाँकी रहेको धान तथा खुला स्थानमा सुकाउन राखिएको बालीमा क्षति पु¥याउन सक्छ ।

त्यसैले मौसमसम्बन्धी पूर्वानुमानलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउनुपर्ने हुन्छ । यद्यपि, हिउँदमा हुने वर्षा कृषि उत्पादनका दृष्टिले सधैँ नकारात्मक मात्रै नहुने मौसमविद्को भनाइ छ । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा हुने वर्षाले हिउँदे बालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउन सक्ने भएकाले कृषि उत्पादनमा सकारात्मक प्रभावसमेत पार्न सक्छ ।

पोखरेलका अनुसार पश्चिमी वायुबाट विकसित हुने न्यूनचापीय प्रणाली सामान्यतया छिटो एक स्थानबाट अर्को स्थानमा सर्ने प्रकृतिको हुन्छ । यसले कुनै निश्चित स्थानमा केही समय वर्षा गराएर प्रभाव पार्ने गर्छ । असिनासमेत सबै क्षेत्रमा नभई निश्चित स्थानमा मात्रै पर्ने सम्भावना रहन्छ ।

यस वर्ष मनसुनका बेला एल निनोको प्रभावका कारण कम वर्षा हुन सक्ने आकलन गरिए पनि नेपालमा अपेक्षाकृत नियमित वर्षा भएको मौसमविद् पोखरेलले बताइन्। तर मनसुन र हिउँदमा एल निनोको प्रभाव फरक हुने भएकाले मनसुनमा कम वर्षा भयो भन्दैमा हिउँदमा पनि सुक्खा हुन्छ भन्ने निष्कर्ष निकाल्न नमिल्ने उनको भनाइ छ ।

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा हिउँदमा पनि वर्षा र हिमपात हुने भएकाले यसलाई एल निनोको प्रभावसँग मात्रै जोडेर हेर्न नहुने उनले स्पष्ट पारिन् । हिउँदमा कस्तो मौसमी अवस्था रहनेछ भन्नेबारे मौसम पूर्वानुमान महाशाखाले छुट्टै मौसमी आकलन सार्वजनिक गर्ने जनाएको छ ।

मौसमविद् पोखरेलले महाशाखाले नियमित रूपमा जारी गर्ने मौसम पूर्वानुमान तथा परामर्श नक्सा हेर्न पनि सर्वसाधारणलाई आग्रह गरेकी छन् । विशेषगरी नक्सामा पहेँलो संकेत भएका क्षेत्रका बासिन्दाले मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिनुपर्ने उनको सुझाव छ ।सम्भावित वर्षा, हिमपात र असिनालाई ध्यानमा राख्दै किसानले धानबाली भित्र्याउने तथा भण्डारण गर्ने काममा सावधानी अपनाउनुपर्ने देखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top