४ चैत, काठमाण्डौ ।
मोरङको रङ्गेली–३ बाबुसाहेब टोलको सन्थाल बस्तीमा आगलागी हुँदा २० घर जलेको इलाका प्रहरी प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । शनिबार दिउँसोदेखि शुरु भएको आगलागी बस्तीमा फैलिदा २० घरधुरीका २३ परिवार विस्थापित भएका रङ्गेली नगरपालिका उपमेयर गोमा पराजुलीले जानकारी दिइन् ।
विस्थापित परिवारलाई स्थानीय सरकारले राहत उपलब्ध गराउन प्रकृया थालेको पनि उनको भनाई छ । प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धि चौलागाईंका अनुसार बाक्लो बस्ती रहेकाले आगलागीका कारण धेरै घरमा क्षति पुगेको हो । शनिबार दिउँसो करिब २ बजेतिर सुरु भएको आगो आइतबार बिहान ४ बजेमात्र पूर्णरुपमा निभाइएको छ ।
शनिबार पाँच बजेतिर आगोलाई नियन्त्रणमा लिइए पनि सानातिना आगो र धुवाँ आउने क्रम आइतबार बिहानसम्मै जारी थियो । आइतबार बिहान चार बजेमात्र आगो पूरै निभाइएको हो । आगो निभाउन ७ वटा दमकल प्रयोग गरिएको थियो । कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिका र विराटनगर महानगरको बारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
आगलागीमा परेको घरबाट परिवारका सदस्यले सामान निकाल्न पाएनन् । अधिकांश पीडितले शरीरमा लगाएका कपडा बाहेक अन्य सामान जोगाउन नसकेको वडा अध्यक्ष भरत प्रसाईंले जानकारी दिए । घरबाट मालसामान निकाल्न खोज्दा २९ वर्षीया तलाबेटी मुर्मू जलेर सामान्य घाइते भएकी छन् ।
बस्तीमा प्राय एउटै प्रकृतिका र बाक्ला घर थिए । केही घरहरु इँटाको सामान्य गाह्रो लगाएर बनाइएका थिए । बाँस, सन्ठी र पराल मिलाएर बनाइएका घरमा आगो छिटो फैलिएको र हावाहुरी चलेकाले नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ । उता मोरङको पथरी शनिश्चरे वडा नम्बर–१ बुद्धचोकमा पनि कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।
गएराति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरी सामग्रीसहित अन्न जलेको हो । स्थानीयबासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको छ । आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाको दमकल प्रयोग गरिएको थियो । आगलागीको कारण खुल्न नसकेको प्रहरी कार्यालय पथरीले जनाएको छ ।