४ चैत,एजेन्सी ।
क्यारेबियन मुलुक हाइटी हिंसा र लुटपाटको चपेटामा फसेको छ । त्यहाँ सामूहिक हिंसा र भोकमारीले अवस्था जर्जर छ । तनाव झन झन बढ्दै गएपछि अमेरिकाले त्यहाँ फसेका आफ्ना नागरिकको उद्धार थालेको छ । उसले उद्धारका लागि चार्टर उडानको घोषणा गरेको छ । अमेरिकाको विदेश विभागले चार्टर उडानको व्यवस्था मिलाएको हो ।
यसअघि अमेरिकाले हाइटीमा काम गर्ने दूतावासका आफ्ना कर्मचारीलाई फिर्ता बोलाएको थियो । विदेशी मिडियाका अनुसार, गणतान्त्रिक मुलुक हाइटीमा लुटपाट, हत्याजस्ता अपराध दिनहुँ भइरहेका छन् । राजधानी पोर्ट–ओ–प्रिन्स नै कुख्यात गिरोहका नाइके जिमी चेरिजियरको कब्जामा छ ।
त्यहाँ प्रहरीले पुनः आफ्नो नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको छ । चेरिजियर ‘बारबेक्यु’ नामले पनि चिनिन्छन् । हाइटीको अवस्था नियाल्दै अन्य देशले त्यहाँबाट आफ्ना नागरिकलाई उद्धार गर्ने तयारी गरिरहेका छन् । भारतले हाइटीमा रहेका आफ्ना ९० नागरिकलाई उद्धार गर्न पहल थालिसकेको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ ।
विभिन्न गिरोहले जथाभावी आक्रमण गरेर हिंसा मच्चाएपछि त्यहाँका प्रधानमन्त्री एरियल हेनरीले राजीनामा दिइसकेका छन् । यद्यपि, नयाँ सरकार बनिनसकेकाले अहिले उनैले कामचलाउका रूपमा काम गर्नेछन् । गृहयुद्धबाट हाइटीको अवस्था अत्यन्तै नाजुक बन्दै गएको छ ।
देशमा फैलिएको हिंसाका कारण ३ लाख ६२ हजार नागरिक विस्थापित भएका बताइएको छ । त्यहाँ सरकार ढाल्ने र बनाउने खेलमा लुटेरा समूहका नाइके निर्णायक हुने गरेका छन् । आफूअनुकूल परिस्थिति नहुँदा गिरोहले राष्ट्रपति, प्रधानमन्त्रीमाथि नै गोली प्रहार गरेको विगत धेरै पुरानो छैन ।
दुई वर्षअघि प्रधानमन्त्री एरियल हेनरीमाथि गोली हानेर मार्ने प्रयास भएको थियो । १ जनवरी २०२२ मा हेनरीलाई ताकेर बन्दुकधारीले गोली हानेका थिए । तर, आक्रमणकारीको गोलीबाट हेनरी बच्न सफल भए । यो घटनाको ६ महिनाअघि ७ जुलाई २०२१ मा राष्ट्रपति जेभेनर मोइजलाई उनकै घरभित्र छिरेर आक्रमणकारीले मारेका थिए ।
हेनरी २० जुलाई २०२१ मा हाइटीका प्रधानमन्त्री नियुक्त भएका थिए । हत्या हुनुभन्दा केही साताअघि राष्ट्रपति मोइजले हेनरीलाई प्रधानमन्त्री बनाउने घोषणा गरेका थिए । त्यसपछि हतियारधारी समूहले हेनरीलाई पनि सिध्याउन खोजिरहेको थियो । हाइटी शक्तिराष्ट्र अमेरिकाको छेउमै भए पनि अति कमविकसित मुलुक हो ।
यो प्राकृतिक बिपत्तिले पीडित देश हो । जानकारहरूका अनुसार, त्यहाँ राजनीतिज्ञ बेइमान भए । नेताले नै गुण्डा पाल्छन् । आर्थिक अवस्था अत्यन्तै खराब छ । स्वदेशमा काम नपाएर युवाहरू विदेशिरहेका छन् । गरिबी, अस्थिरता भएपछि अराजकता र अपराध बढ्छ । राजनीति बिग्रे के हुन्छ भन्ने कुरा हाइटीलाई हेर्दा थाहा हुने विदेश मामिलाका जानकारहरू बताउँछन् ।