८ चैत , एजेन्सी ।
श्रीलंकन स्पिनर वानिन्दु हसरंगालाई अन्तरराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले कारबाही गरेको छ । बंगलादेशविरुद्धको एकदिवसीय शृंखलाको अन्तिम खेलमा आईसीसी आचारसंहिताको धारा २.८ उल्लंघन गरेको भन्दै उनलाई कारबाही गरिएको हो । भर्खरमात्र संन्यासबाट फर्किएर टेस्ट क्रिकेटमा फर्किएका आईसीसीको कारबाहीपछि उनले बंगलादेशविरुद्धको शृंखला गुमाउने भएका छन् ।
बंगलादेशविरुद्धको अन्तिम खेलको इनिङ्समा ३७औँ ओभरमा हसरंगाले अम्पायरको क्याप खोसेका थिए । त्यसको कारबाहीस्वरुप हसरंगाको म्याच फिको ५० प्रतिशत कटौती गरिएको छ । म्याच फि कटौतीसँगै उनले ३ डिमेरिट अंक पनि पाएका छन्। २ वर्षमा उनको कूल डिमेरिट अंक ८ भएको छ । हसरंगाले सन् २०२३ अगस्टमा टेस्ट क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका थिए ।
उनले खेलेका ४ टेस्टमा ४ विकेट लिएका छन् । आईसीसीको नियमअनुसार ४ डिमेरिट अंक पाएपछि त्यो खेलाडीले दुई टेस्ट वा ४ अन्तरराष्ट्रिय एकदिवसीय अथवा ४ अन्तरराष्ट्रिय टी–२० खेल पाउँदैन । यसै नियमअनुसार हसरंगाले बंगलादेशविरुद्धको टेस्ट शृंखला गुमाउने भएका हुन् । उता क्रिकेट अस्ट्रेलियाले द्विपक्षीय शृंखला स्थगित गरेकोमा अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)ले निराशा व्यक्त गरेको छ ।
अस्ट्रेलिया सरकारलाई क्रिकेट बोर्डमा आफ्ना नीतिहरू नथोपार्न एसीबी अपिल गरेको छ । ‘बरु अस्ट्रेलिया सरकारले अन्य क्षेत्रमा क्रिकेटको विकासमा ध्यान दिनुपर्छ,’ एसीबीले विज्ञप्तिमा भनेको छ । सरकारको सल्लाहमा मंगलबार क्रिकेट अस्ट्रेलियाले महिला अधिकारको उल्लंघन गरेको कारण अफगानिस्तानविरुद्ध तीन खेलको टी२० शृखला तटस्थ स्थानमा खेल्न अस्वीकार गरेको थियो ।
यो शृखला आईसीसीको ‘फ्यूचर टूर्स’ कार्यक्रमको हिस्सा थियो । यसका बाबजुद अस्ट्रेलियाले तेस्रो पटक अफगानिस्तानविरुद्ध द्विपक्षीय शृखला खेल्न अस्वीकार गरेको हो । अफगानिस्तानमा तालिबान सत्तामा आएपछि अस्ट्रेलियाले सन् २०२१ मा अफगानिस्तानविरुद्धको टेस्ट र २०२३ मा एक दिवसीय शृखला खेल्न अस्वीकार गरेको थियो ।
एक दिवसीय शृखलालाई आईसीसीले नै स्वीकृति दिएको एसीबीले बताएको छ । ‘क्रिकेट अस्ट्रेलियाको प्रतिनिधिमण्डलको पनि उपस्थित थियो र उनीहरूले पनि समयमै खेल खेल्ने सहमति जनाएका थिए । क्रिकेट अस्ट्रेलियालाई हामी पूर्ण सदस्य राष्ट्र भएको तथ्यलाई सम्मान गर्न र राजनीतिक प्रभावमा पर्नुको सट्टा वैकल्पिक समाधान खोज्न हामी आग्रह गर्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
विश्वभर क्रिकेट तटस्थ र राजनीतिबाट मुक्त हुनुपर्ने अडान एसीबीले दोहो¥याएको छ । क्रिकेटलाई राजनीतिक प्रभावबाट मुक्त राख्न वार्ताका लागि तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।