११ चैत , विराटनगर ।
आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदै छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ ।
यसपटक बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ ४ चैतमा चीर ठड्याइएको थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा खासगरी ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।
तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ । सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ ।
हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रुपमा होली पर्व मनाउने गरिन्छ । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रधमानमनत्री पुष्पकमल दाहालले फागुपूर्णिमा (होलीपर्व) को शुभकामना दिएका छन् ।
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै होलीले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास समेत व्यक्त गरेका छन् । काठमाडौंको वसन्तपुरमा होलीको चहलपहल शुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ ।
एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचिन परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ ।