Nepal Times
Nepal Times
3
Shares

कोरियाले बढायो नेपाली कामदार कोटा

कोरियाले बढायो नेपाली कामदार कोटा

१३ चैत , एजेन्सी । 

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२४ का लागि नेपालबाट लैजाने कामदारको कोटा बढाएको छ । कोरियाले यस वर्षका लागि १५ हजार कोटा गत वर्ष नै छुट्ट्याएको थियो । कोरियाको एचआरडीले १ हजार ४ सय कोटा बढाएर पत्र पठाएको जानकारी वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले दिए ।

उनका अनुसार सन् २०२४ मा कोरिया सरकारले नेपालका लागि १६ हजार ४ सय कामदार कोटा पु¥याएको छ । कोरियाले यस वर्षका लागि गत छुट्याएको कोटामा १३.२ प्रतिशत थप गरेको उनले बताए । ‘२०२४ मा कोरियाले नेपालबाट बढी कामदार लैजाने भएको हो । यस वर्ष कोरियाबाट करार सकिएर फर्किएका कामदारसहित २२ हजार युवा कोरिया जान्छन’, उनले भने ।

कोरियाले थप गर्ने क्षेत्रमा नेपालबाट छिटोछरितो गरी कामदार लैजान आश्वासन दिएको छ । कोरियन भाषा परीक्षा उत्तीर्ण भएका कामदारले क्षेत्र परिवर्तन गरेर लैजाने पनि कोरियाको सम्बन्धित पक्षले चासो राखेको महानिर्देशक घिमिरेले जानकारी दिए । कोरियाले २००८ देखि कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा नेपाली कामदार ईपीएसमार्फत लैजाँदै आएको छ ।

गत वर्षदेखि सिप बिल्डिङ क्षेत्रमा कामदार लैजान थालेको कोरियाले यस वर्षदेखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा पनि कामदार लैजान लागेको छ । कोरियाबाट करार अवधि सकिएर फर्किएका कामदारले दिएको सीप परीक्षामा उत्तीर्ण भएका ३० जनामध्ये तीनजना रुट इन्डस्ट्रीको रोजगारीमा कोरिया प्रवेश गरिसकेको शाखाले जनाएको छ ।

कोरियाले नेपालबाट रुट इन्डस्ट्री क्षेत्रअन्तर्गत वेल्डिङमा पाइलटका रूपमा कामदार मागेको छ । कोरियाले नेपालबाट स्वास्थ्य क्षेत्रका कामदार लैजान पनि चासो राखेको छ । यस विषयमा छलफल भइरहेका कारण अहिले स्वास्थ्यमा कस्ता कामदार लैजाने भन्ने टुंगो नभएको शाखाको भनाइ छ ।

कोरियाले ई–सेभन भिसामार्फत स्वास्थ्य क्षेत्रका कामदार लैजान सक्ने शाखाको अनुमान छ । चालु आर्थिक वर्षमा पाँच हजारभन्दा बढी कामदार रोजगारीका लागि कोरिया पुगेका छन् । एक हजारभन्दा बढी कामदार जाने तयारीमा रहेको घिमिरेले बताए।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.