Nepal Times
Nepal Times
3
Shares

भारतले अमेरिकालाई किन थर्कायो ?

भारतले अमेरिकालाई किन थर्कायो ?

१५ चैत, एजेन्सी ।

अमेरिकाले गरेको एक टिप्पणीलाई लिएर भारतले उसलाई थर्काएको छ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेपछिको टिप्पणीलाई लिएर भारतले अमेरिकी एक उच्च कूटनीतिज्ञलाई बोलाएको छ । बुधबार अमेरिकाले केजरीवाल पक्राउ परेको विषयमा ‘निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रिया’ सुनिश्चित गर्न चेतावनी दिएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले अरविन्द केजरीवाल पक्राउ परेपछिको घटनाक्रमलाई ‘नजिकबाट हेरिरहेको’ भनेको छ । भारतको विदेश मन्त्रालयले अमेरिकी सो टिप्पणीमा विरोध जनाएको छ । “हामी टिप्पणीको कडा आलोचना गर्दछौँ,” भारतको विदेश मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ, “कूटनीतिमा राज्यहरूले अरूको सार्वभौमसत्ता र आन्तरिक मामिलाको सम्मान गर्ने अपेक्षा गरिन्छ । अन्यथा अस्वस्थ स्थिति सिर्जना हुनेछ ।” भारतले यस मामिलामा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ ग्लोरिया बर्बेनालाई बोलाएको बताइएको छ ।

अमेरिकाअघि जर्मनीको विदेश मन्त्रालयले केजरीवालको सन्दर्भमा निष्पक्ष छानबिन हुनुपर्ने टिप्पणी गरेको थियो । भारतले त्यसपछि जर्मन राजदूतलाई समेत बोलाएर ‘आन्तरिक मामिलामा हस्तक्षेप’ भएको भनेको थियो । यसबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार गरेको छ ।

बुधबार उच्च अदालतले प्रवर्तन निर्देशनालयलाई अप्रिल २ सम्मको समय दिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । अब यस मुद्दाको अर्को सुनुवाई अप्रिल ३ मा हुनेछ । अदालतले अप्रिल ३ को लागि केजरीवालको मुख्य याचिका पनि सूचीबद्ध गरेको बताइएको छ ।

मुख्यमन्त्री केजरीवाललाई दिल्लीको कथित मदिरा घोटाला प्रकरणमा मार्च २१ को राती उनको नयाँ दिल्लीस्थित निवासबाट हिरासतमा लिइएको थियो । भोलिपल्ट उनलाई अदालतमा पेश गरियो र अदालतले उनलाई मार्च २८ सम्म ईडी हिरासतमा पठाएको थियो । उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ ।

तर केजरीवालको पक्राउ प्रकरणलाई लिएर सबै विपक्षी दलहरुले भने सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् । फेरि केजरीवालको घोटाला प्रकरणमा सरकारी साक्षी बनेका ब्यक्ति नै भारतीय जनता पार्टीका चन्दादाता भएको खुलेपछि विपक्षी दलहरु झनै आक्रोशित बनेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.