१६ चैत,काठमाण्डौ।
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजारपाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार पाँच सय २५ निर्धारण गरिएको छ ।
अघिल्लो दिन सुन प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै विश्व बजारमा सुनको मूल्य थप चुलिएको छ । ब्याजदर कटौतीपछि निक्षेपकर्ताहरुसमेत सुनमा धेरै फाइदा हुने अनुमान गरिरहेका छन् ।
यस्तै, अर्थतन्त्रका अन्य क्षेत्र शिथिल हुँदा पनि लगानीकर्ता सुनतर्फ आकर्षित हुने गरेको पाइएको छ । यस्तै, विश्व बजारमा द्वन्द अझै बढ्न सक्ने आँकलनका कारण पनि सुनको मूल्यमा वृद्धि देखिएको विभिन्न रिसर्च संस्था र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर परेको व्यवसायीहरु बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २३२.७५ डलर र चाँदी प्रतिऔंस २४.९५ डलरमा कारोबार भइरहेको छ । सुन प्रतितोला अढाइलाख सम्म पुग्न सक्ने अनुमान गरिएको छ ।