१६ चैत,काठमाण्डौ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा समिति गठन गरिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ । समितिमा उपसचिव ऋषि पौडेल र नेपाल प्रहरीका उपरीक्षक सन्तोष भट्टराई सदस्य छन् ।
गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव छन् । प्रसाईंका दुईजना व्यक्तिगत सुरक्षागार्ड चैत ५ मा सर्वोच्च अदालत परिसरबाट जर्मन स्पोर्ट गन ‘जिएसजी–५’ सहित पक्राउ परेका थिए । त्यसबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलले आदेश गरेका थिए ।
छानबिन समितिलाई त्यसबारे अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । हतियार इजाजतपत्र र नवीकरण सम्बन्धमा छानबिन गरेर दोषीलाई कारबाहीको सिफारिस गर्न समितिलाई कार्यदेश दिइएको छ । व्यक्तिगत रुपमा इजाजतपत्र प्राप्त हातहतियारको प्रयोग सम्बन्धी मापदण्ड बनाउन पनि समितिलाई कार्यादेश दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
हतियार नवीकरण र कानूनी अभ्यासको विष्लेषण गरेर ऐनमा गर्नुपर्ने सुधारका विषयहरु पहिचान गर्न समितिलाई भनिएको छ । जिल्ला प्रशासन कार्यालय, झापाबाट २०७५ असार २१ म दुर्गाप्रसाद प्रसाईको नाममा २२ बोर ए३५४७५२को पेस्तोलका लागि इजाजतपत्र जारी भएको छ ।
यसअघि प्रसाइका अंगरक्षकले बोकेर हिडेको हतियारका विषयमा राज्यव्यवस्था समितिमा समेत उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सांसदहरुले प्रश्न गरेका थिए । प्रसाईको हतियार प्रकरणपछि गृहले देशभरबाट हतियार अनुमतिपत्र दिइएका हतियारका विषयमा तथ्याङ माग गरेको छ ।