Nepal Times
Nepal Times
3
Shares

आयरल्यान्डले नेपाललाई दियो २ सय २३ को विशाल लक्ष्य

आयरल्यान्डले नेपाललाई   दियो  २ सय २३ को विशाल लक्ष्य

१६ चैत,काठमाण्डौ ।

आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको चुनौतीपूर्ण विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय २२ रन बनाएको हो । आयरल्यान्डका लागि ओपनर पिटर मुरले सर्वाधिक ४९ रन बनाए ।

केड कार्मिकल र कप्तान निल रकले पनि टोलीका लागि ३८–३८ रनको योगदान गरे । स्टिफन डोहेनीले पनि ३४ रन बटुले । गारेथ डेलानी ३० रनमा अविजित रहे । गाभिन होएले पनि अविजित १८ रन जोडे । आयरल्यान्ड ‘ए’ ले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो । नेपाली टोलीका बलर कमलसिंह ऐरीले तीन विकेट लिए । उनले चार ओभरमा ३९ रन खर्चिए ।

सागर ढकाल र आरिफ शेखले पनि एक–एक विकेट हात पारे । आयरल्यान्ड ‘ए’ को पहिलो विकेट नेपाली बलर कमलसिंह ऐरीले लिएका थिए । उनले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान रोस एडिरलाई दुई रनको ब्यक्तिगत स्कोरमा आरिफ शेखद्वारा क्याच गराएका थिए । चोटका कारण दुई वर्षपछि टिममा पुनरागमन गरेका कमलले इनिङको दोस्रो बलमै विकेट लिएका थिए ।

वुल्भ्सले नेपाल ‘ए’ सँग तीन ट्वान्टी–२० र एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । यसअघि नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला बिहीबारदेखि सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण सम्भव नभएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुनः नयाँ तालिका निकालेको हो ।

नयाँ तालिकामा क्यानले वुल्भ्ससँगको तीन खेलको ट्वान्टी–२० शृंखलालाई निरन्तरता दिएको छ । तालिकाअनुसार, नेपाल र वुल्भ्सले आज पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् । ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । दोस्रो खेल शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.