नेपाल ए र आयरल्याण्ड ए बीचको दोस्रो टी–२० आज

नेपाल ए र आयरल्याण्ड ए बीचको दोस्रो टी–२० आज

१७ चैत , काठमाण्डौ।
नेपाल ए ले दोस्रो टी–२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । त्यसैले तीन खेलको सिरिजमा नेपाल १–० ले पछि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेल जित्नुपर्ने हुन्छ । पहिलो खेलमा २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २०१ रनमा अल आउट भएको थियो ।

अन्तिम २२ बलमा नेपाल १२ रन बनाउँदा ७ विकेट गुमाएपछि हारेको थियो । नेपालका लोकेश बलमे १०६ रनको शतकीय इनिङ र आरिफ शेखले ४९ रन बनाएका थिए । पहिलो खेलको ब्याटिङले खेलाडीको मनोबल बढ्नेछ । नेपालको मध्यक्रम र तल्लोक्रमका ब्याटर चल्न सकेका थिएनन् । नेपालले आज फिनिसर नारायण जोशीलाई मौका दिनसक्छ ।

यस्तै अलराउन्डर पवन सर्राफले आज अवसर पाउन सक्छन् । १४ महिनापछि क्रिकेटमा फर्किएका कमलले तीन विकेट लिंदै राम्रो प्रदर्शन गरेका थिए । बलिङमा भने केही सुधार गर्नुपर्ने देखिन्छ । उता पिटर मुर आयरल्यान्डका प्रमुख ब्याटर हुन् । उनले पहिलो खेलमा ४९ रन बनाएका थिए । स्टेफन डोहेनी, निल रक र ग्यारेथ डेलानी पनि राम्रो ब्याटर हुन् ।

आयरल्यान्डले पनि स्पिनर बेन ह्वाइटलाई उतार्न सक्छ । आजको खेल जिते वुल्भ्सले सिरिज जित्नेछ । शनिबार भएका कारण घरेलु समर्थकको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ । नेपाल ‘ए’ टि२० टोलीमा कप्तान विनोद भण्डारीसहित, लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी, विकास आग्री रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.