१९ चैत , एजेन्सी ।
भारतीय क्रिकेट टिमका सफल कप्तान मध्येका एक पूर्वकप्तान महेन्द्र सिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल)मा पनि सफल कप्तान हुन् । ४२ वर्षको उमेरमा पनि आफूलाई क्रिकेटका लागि त्यतिनै योग्य बनाइराख्न सफल भएका धोनीले आईपीएल अन्र्तगत आइतबारको खेलमा क्याचमा विशव कीर्तिमान बनाएका छन् ।
आइतबार दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेपनि धोनीले कीर्तिमान बनाउन सफल भए । विकेटकिपरको रूपमा धोनीको पृथ्वी शाको क्याच टी–२० करिअरको ३००औँ थियो। यो उपलब्धि हासिल गर्ने उनी विश्वकै पहिलो विकेटकिपर बनेका छन्। पाकिस्तानका कामरान अकमल र भारतका दिनेश कार्तिकले २७४–२७४ विकेट लिएर संयुक्त रूपमा दोस्रो स्थानमा छन्।
योसँगै क्विन्टन डी कक २७० विकेट लिएर तेस्रो र जोस बटलर २०९ विकेट लिएर चौथो स्थानमा छन्। पृथ्वी शा २७ बलमा ४ चौका र २ छक्काको मद्दतले ४३ रन बनाएर आउट भए । विशाखापट्टनममा भएको खेलमा दिल्लीका कप्तान ऋषभ पन्तले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। दिल्लीका ओपनर डेभिड वार्नर र पृथ्वी शाले टोलीलाई उत्कृष्ट शुरूआत दिलाए।
दुवैले पहिलो विकेटका लागि ९३ रन जोडे।यो क्रममा वार्नरले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो आईपीएल करिअरको ६२औँ अर्धशतक बनाए। यो उनको कीर्तिमान हो। खेलका क्रममा चेन्नईका बलर माथिसा पाथिरानाले लिएको एउटा फ्लाइङ क्याच निकै चर्चित बन्यो । तीव्र गतिका बलर पाथिरानाले उक्त फ्लाइङ क्याच एक हातले लिएका थिए ।
यसै खेलमा धोनीले एक हातले प्रहार गरेको छक्का चर्चित बनेको छ । २०औँ ओभर फाल्न दिल्लीका बलर एनरिच नोर्जे आएका थिए । नोर्जेले फालेको अघिल्लो बलमा धोनीले चौका प्रहार गरेका थिए । त्यसपछि नोर्जेले अर्को बल ‘फूल टस’ फालेका थिए । त्यो बलमा धोनीले मिड–विकेटतर्फ एक हातले छक्का प्रहार गरेका थिए ।
त्यो ओभरमा धोनीले २० रन बनाएका थिए । उक्त खेलमा धोनीले १६ बलमा अविजित ३७ रन बनाएका थिए । यद्यपि, धोनीले आफ्नो टोलीलाई जित दिलाउन भने सकेनन् । चेन्नईका पूर्व कप्तान धोनीले आईपीएलमा आफ्नै कप्तानीमा चेन्नईलाई ५ पटक च्याम्पियन बनाएका छन् । यसपटक भने उनी कप्तानबाट हटेर खेलिरहेका छन् ।