Nepal Times
Nepal Times
3
Shares

नेतन्याहूविरुद्ध प्रदर्शन चर्कियो, प्रदर्शनकारीले घेरे संसद

नेतन्याहूविरुद्ध प्रदर्शन चर्कियो, प्रदर्शनकारीले घेरे संसद

१९ चैत ,  एजेन्सी ।

इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुप्रति असन्तुष्ट व्यक्त गर्दै नागरिकले फेरि विरोध प्रदर्शन गर्न थालेका छन् । प्रदर्शनकारीले जेरुसेलममा रहेको इजरायली संसद् भवन घेरेर नारा लगाएका छन् । विद्रोही समूह हमासले इजरायलमाथि गरेको आक्रमणका कारण राष्ट्रियतालाई ख्याल गर्दै उनीहरूले केही समय आन्तरिक राजनीतिका विवाद ओझेलमा पारेको बताएका छन् ।

छ महिनापछि फेरि लामोसमय शासन चलाएका प्रधानमन्त्री नेतान्याहुलाई सत्ताच्यूत गर्नेसम्मको प्रदर्शन बढ्न थालेको छ । प्रदर्शनकारीले गाजामा बन्धक बनाइएका एक सय ३० नागरिकलाई मुक्त गर्न सरकारले पहल गर्नुपर्ने माग गरेका छन् । उनीहरूले प्रधानमन्त्री नेतान्याहुको राजीनामासँगै चुनावको समेत माग गरेका खबरमा उल्लेख छ ।

यसैबीच गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गाजाको मुख्य अल–शिफा अस्पतालबाट फिर्ता भएको जनाएको छ । अस्पताल परिसरमा तैनाथ इजरायली ट्यांक र अन्य सैनिक सवारीसाधन इजरायली सेनाले हटाएको छ । इजरायली सेनाले अस्पताल परिसरमा गरेको कारबाहीमा दर्जनौं व्यक्ति मारिएसँगै अस्पताल परिसर परित्याग गरेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।

यद्यपि इजरायली सेनाले अस्पताल छाडेको हो वा होइन भन्ने पुष्टि गरिसकेको छैन । प्रत्यक्षदर्शीको भनाइमा अस्पताल परिसरमा इजरायली सेनाले दर्जनौं हवाई हमला गरेको थियो । हमास सरकारद्वारा संचालित संचार इकाईले आफ्ना सैनिक बन्दोबस्तीका सामान हटाउन इजरायली सेनाले बमबारी गरेको हुनसक्ने बताएको छ ।

हमासको मुख्य अखडा रहेको विश्वासमा अल–शिफा अस्पताललाई नियन्त्रणमा लिन इजरायलले गत मार्च १८ मा अस्पतालभित्रै सैन्य कारबाही चलाएको थियो । यसक्रममा सेनाले अल–शिफा अस्पतालको परिसरमा २०० भन्दा बढी हमास लडाकू मारिएको दाबी गरेको थियो । इजरायली सेनाले अस्पतालबाट हमास र इस्लामिक जिहादका लडाकूका हातहतियार र रकम बरामद गरेको दाबी गरेको थियो ।

हमासले अल–शिफा र अन्य स्वास्थ्य संस्थाहरूमा आफ्ना लडाकू नरहेको बताउँदै आएको थियो । हमासको स्वास्थ्य मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा अल–शिफा अस्पताल परिसरबाट दर्जनौं व्यक्तिका सडेका शवहरू बरामद गरिएको जनाएको छ । मन्त्रालयले इजरायली सेनाले अस्पताल छाड्नुअघि अस्पतालका मुख्य संरचनामा आगो लगाइदिएको र ती भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न तत्काल सम्भव नहुने पनि बताएको छ ।

इजरायलले सोमबार बिहानै गाजाका अन्य स्थानहरूमा पनि घातक हवाई हमला गरेको छ । गाजाका कैयौं स्थानमा हमास र इजरायली सैनिकबीच भिडन्तहरु भइरहेका छन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट युद्धविरामको प्रस्ताव पारित गर्दै इजरायललाई युद्धविरामका लागि आह्वान गरेपनि गाजामा इजरेलको आक्रमण रोकिएको छैन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.