५ वैशाख , काठमाण्डौ ।
ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा पनि अपराजित रहदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । एक खेल अगावै सेमिफाइनलमा पुगेपनि साउदी अरेबियालाई ६ विकेटले हराउँदै प्रतियोगितामा नेपालले लगातार चौथो जित हासिल गरेको हो ।
वर्षाले प्रभावित भएपछि ८ ओभरमा घटाइएको खेलमा साउदीले प्रस्तुत गरेको ७४ रन लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । नेपाली टोली लिग चरणमा आफ्नो सबै खेल जित्दै आठ अङ्कसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
नेपालसँग पराजित भएपछि साउदी अरेबिया भने समूहगत चरणबाटै घर फर्कन बाध्य भयो । समूह ‘ए’ बाट हङ्कङ दोस्रो हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । बुधबार नै खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले मलेसियालाई सात विकेटले हराएको थियो ।
बुधबारको खेलमा नेपाललाई हराउन सकेको भए साउदी अरेबिया नेट रन रेटका आधारमा हङ्कङलाई पछि पार्दै अन्तिम चारमा पुग्ने थियो । समूह ए बाट नेपालको जितले हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
नेपालले यसअघि मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । नेपालले शुक्रबार समूह बी को उप–विजेतासँग सेमीफाइनल खेल्नेछ । दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ ।
सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ । प्रतियोगिताको विजेताले टी–२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।