Nepal Times
Nepal Times
3
Shares

जब गृहमन्त्री रविकै अघि रामहरिकी श्रीमतीले आँशु झारिन्

जब गृहमन्त्री रविकै अघि रामहरिकी श्रीमतीले आँशु झारिन्

६ वैशाख ,काठमाण्डौ ।

काठमाडौंको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपित कालीबहादुर खामलाई कानूनअनुसार कारबाही गरी आफूलाई न्याय दिन स्व.श्रेष्ठका परिवारले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् । बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा पीडित परिवार श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठ र उनका पुत्र रोहन श्रेष्ठले खामलाई कानूनअनुसार कारबाही गरी आफूलाई न्याय दिन माग गरेका हुन् ।

उनीहरुले कुनैपनि राजनीतिक दलहरुको आग्रह र पूर्वाग्रहमा लागेर राजनीतिक उन्मुक्ति नदिन पनि गृहमन्त्री लामिछानेको खबरदारी गरे । भेटमा बोल्दै रमिलाले अपराधीलाई राजनीतिक संरक्षणमा छोड्न नहुने बताइन । उनले यसअघि पनि विभिन्न राजनीतिक दलहरुको संरक्षणमा पटक पटक छोडिएको भन्दै अपराधीलाई कारबाही गर्न माग गरेकी छन् ।

भावुक हुँदै प्रस्तुत भएकी उनले श्रीमान नपाए पनि अब न्याय पाउने आश लागेको बताइन । उनले खाम पक्राउ परेपछि आफू र परिवारमाथि सुरक्षा चुनौति बढेको गृहमन्त्रीलाई बताएकी छन् । उनले भनिन्, ‘अपराधी राजनीतिक संरक्षणमा नछुटोस् । पहिला पनि राजनीतिक संरक्षणका कारण पटक पटक छुटेको रेकर्ड छ ।

उसलाई कारबाही होस् । मैले श्रीमान नपाए पनि न्याय पाउँ । मलाई न्याय पाउँछु की भन्ने आश लागेको छ । मन हलुका भएको छ ।’ पीडित परिवारको भनाइ सुनिसकेपछि गृहमन्त्री लामिछानेले कुनै राजनीतिक दल र कुनै व्यक्तिको शक्ति हेरेर नभइ सत्यको आधारमा कारबाही गर्ने बताए । उनले काम गर्न जटिलता भएपनि अपराधीलाई उन्मुक्ति नदिने बताए ।

गृहमन्त्री रविले कसैप्रति आग्रह, पूर्वाग्रह नराखिकन काम गरिरहेको बताए । उनले भने, ‘हामीले कुनै राजनीतिक दल हेरेर, कुनै व्यक्तिको शक्ति कहाँ छ भन्ने हेरेर त्यो हिसावले होइन, हामीले न्याय के हो ? सत्य के हो ? त्यसमा काम गर्ने हो । केही जटिलता छ, काम गर्ने जटिलता छ, समाजमा जटिलता छ । एक जना फेरिने बित्तिकै सबै फेरिने त होइन । समय लाग्छ । इमान्दारीपूर्वक काम गरिरहेका छौँ । हामी सम्पूर्ण रुपमा अनुसन्धान गर्छौं ।

कसैप्रति आग्रह, पूर्वाग्रह छैन, हामीले सबैलाई कानूनको दृष्टिकोणबाट हेर्नेछौँ । हामीले व्यक्ति जोगाउने होइन, मुलुक र व्यवस्था जोगाउने हो । जनता, न्याय जोगाउने हो ।’ घटना भएको करिब १५ वर्षपछि गएको चैत २० गते माओवादी नेता कालीबहादुर खामलाई काठमाडौंको ठमेलबाट प्रहरीले पक्राउ गरेको थियो ।

२३ गते रामहरि श्रेष्ठको हत्या प्रकरणमा चितवन जिल्ला अदालतका जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका छन् । कोटेश्वरका व्यपारी श्रेष्ठको ६५ सालको बैशाखमा चितवन शक्तिखोरमा रहेको माओवादी लडाकुको अस्थायी शिविरको तेस्रो डिभिजनमा हत्या भएको थियो ।

चितवन जिल्ला अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यका अनुसार खामले घटनामा आफ्नो संलग्नता नरहेको भनेर अदालतमा इन्कारी बयान दिएका थिए । खाम त्यो बेला तेस्रो डिभिजनका कमाण्डर रहेका थिए । रामहरि श्रेष्ठको कोटेश्वरमा रहेको घरमा तेस्रो डिभिजनको सम्पर्क कार्यालय थियो । कार्यालयबाट १७ लाख रूपैयाँ नगद र हतियार हराएपछि सोधपुछ छानबिनका लागि भनेर श्रेष्ठलाई शक्तिखोर ल्याइएको थियो ।

शिविरभित्रै श्रेष्ठको कुटपिटबाट हत्या भएको पुष्टि भएपछि श्रेष्ठकी श्रीमती रमिलाले खामसहित अर्का कमाण्डर गोविन्दबहादुर बटला, केशव अधिकारी र गंगाबहादुर थापा लगायतविरुद्ध जाहेरी दिएकी थिइन् । यो मुद्दामा बटला आफैँ प्रहरीमा उपस्थित भएर ६८ सालमा तीन वर्षको कैद सजाय पाए पनि अरू कोही पक्राउ परेका थिएनन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.