१८ वैशाख ,एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा आज मंगलबार लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबीच खेल हुँदैछ । उक्त खेल ईकाना क्रिकेट स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । यो लखनउको घरेलु खेल मैदान हो । यो सिजनको आईपीएलमा लखनउ र मुम्बई दुबैले आफ्नो १०औँ खेल खेल्न लागेका हुन् ।
यो सिजन लखनउको तुलनामा मुम्बईको प्रदर्शन निराशाजनक देखिएको छ । जारी सिजनको आईपीएलमा लखनउले यसअघि खेलिएको नौमध्ये पाँच खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । लखनउ १० अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । मुम्बईले भने यसअघि खेलिएको नौमध्ये तीन खेलमा जित र ६ खेलमा हारको नतिजाले ६ अंकसहित तालिकाको नवौँ स्थानमा छ ।
तालिकामा मुम्बईभन्दा तल रोयल च्यालेन्जर्स बैंगलुरु मात्र छ । आईपीएलमा लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबीच हालसम्म कुल चार खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा लखनउ विजयी भएको । एक खेलमा मुम्बईले जित हासिल गरेको छ । १७औँ संस्करणमा भने लखनउ र मुम्बईबीच भिडन्त हुन लागेको यो पहिलो पटक हो ।
उता आईपीएलमा उत्कृष्ट फर्ममा रहेको कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि ७ विकेटको शानदार जित दर्ता गरेको छ । सोमबार राति कोलकाताको मैदानमा पराजित हुँदा प्लेअफको सम्भावना कठिन हुँदै गएको छ । जारी प्रतियोगितामा कोलकाता १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने दिल्ली १० अंकसहित छैटौँ स्थानमा पुगेको छ ।
दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर जम्मा १५३ रन बनाएको थियो ।दिल्लीका पृथ्वी साले १३ रन, ज्याक फ्रेजरले १२ रन बनाए भने अभिषेक पोरेल १८ रन बनाएर आउट भए । कप्तान पन्तले २७ रनको योगदान गरे । दिल्लीका लागि कुलदीप यादवले सर्वाधिक ३५ रनको योगदान गरे ।
कोलकाताका लागि वरुण चक्रवर्तीले ३ विकेट लिए । वैभव अरोरा र हर्षित रानाले २–२ विकेट लिए । १ सय ५४ रनको सामान्य लक्ष्य पछ्याउँदा ओपनर फिल साल्टले ६८ रनको पारी खेले । कप्तान श्रेयस अय्यर र वेंकटेश अय्यरले टिमलाई जितसम्म पुर्याएका थिए ।