Nepal Times
Nepal Times
3
Shares

नेपालको घाँस अब तिब्बतमा बिक्री हुने

नेपालको घाँस अब तिब्बतमा बिक्री हुने

१८ वैशाख, काठमाण्डौ ।

तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रबीच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग सम्झौता गरेको हो । प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपाल क्राउन एग्रिकल्चर इन्टरप्राइजेज र न्यु होप नेपाल कम्पनीसँग क्रमशः ओट घाँस र जनावरको दाना खरिदको सम्झौता गरेको छ ।

नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदुत चेन सोङको उपस्थितिमा घाँस र दाना निर्यात गर्नेबारे सम्झौता भएको हो । नेपालको दक्षिणी तराईको हावापानी र माटोको अवस्था ओट ग्रासको विकासको लागि उपयुक्त मानिन्छ। ओट घाँसमा कच्चा फाइबरको मात्रा राम्रो हुन्छ। जुन याक जस्ता पशुका लागि महत्वपूर्ण मानिन्छ ।तिब्बतमा ओट घाँसको ठूलो माग छ ।

आन्तरिक उत्पादनले यो माग पूरा गर्न नसकेपछि सरकारले घाँस आयात गरिरहेको छ । नेपालबाट उच्च गुणस्तरको ओट घाँस र पशु दानाको आपूर्तिलाई प्रभावकारी रूपमा सुधार गर्न तिब्बत सरकारले नेपाली किसानसँग सहकार्य गरेको हो । घाँस लैजाने कम्पनी तिब्बत प्लेटु ब्लु एग्रिकल्चरका निर्देशक झ्याङ्ग जियाङ्गले तिब्बतका दुग्ध फार्महरू र किसानहरुको लागि चीनको अर्को क्षेत्रबाट घाँस ल्याउनुभन्दा तातोपानी र केरूङ नाका हुँदै नेपालबाट घाँस किनेर लैजान सहज र सस्तो हुने बताए ।

यसले नेपाली जनताको आय आर्जन बढ्ने र रोजगारी समेत सिर्जना हुने भएकाले पनि चीनले नेपालमा उत्पादित घाँस आयातलाई प्राथमिकतामा राखेको बताए । २०७८ सालमा चिनियाँ विदेशमन्त्रीले नेपालको भ्रमण गर्दा नेपालबाट चीनमा घाँस निर्यात गर्ने सम्बन्धी ‘प्रोटोकल’मा हस्ताक्षर गरेका थिए । त्यसपछि चितवनको एक नेपाली कम्पनीले हाइलेज (घाँसको विशेष प्रकार) बनाएर तिब्बत पठाइरहेको छ ।

सम्झौतासँगै नेपाली किसानले ठूलो परिणाममा घाँस खेती गर्नसके निर्यात गर्ने ढोका खुलेको छ । सो अवसरमा उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका १४ नाका खुल्ने बताए । यसका साथै उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपालीले चीन जानका लागि निःशुल्क भिसाको व्यवस्था गर्ने सहमति भएकोमा त्यो कार्यान्वयनमा आएको समेत जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.