Nepal Times
Nepal Times
3
Shares

मोरङमा श्रीमतीको शव फेला , श्रीमान् सम्पर्कविहीन

मोरङमा श्रीमतीको शव फेला , श्रीमान् सम्पर्कविहीन

२० वैशाख , विराटनगर ।

मोरङको सुन्दरहरैँचामा एक महिलाको शव फेला परेको छ । बिहीबार बिहान हत्या गरिएको अवस्थामा सुन्दरहरैँचा नगरपालिका–५ गार्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घरभित्र भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताएका छन् ।

‘घरको कोठाभित्र मनमायाको शव फेला परेको छ,’ बस्नेतले भने, ‘उनका श्रीमान ५० वर्षीय पदमबहादुर तामाङ सम्पर्कविहीन छन् ।’ उनका अनुसार श्रीमतीको हत्या गरेर पदमबहादुर फरार बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनापछि सम्पर्कविहीन रहेका पदमबहादुरको प्रहरीले खोजी गरिरहेको छ ।

तर, हालसम्म फेला पार्न नसकिएको डीएसपी बस्नेतले बताए । डीएसपी बस्नेतका अनुसार हत्या गरिएको अवस्थामा आमाको शव देखेपछि छोरी रत्ना तामाङले प्रहरीलाई खबर गरेकी थिइन् । सुत्ने कोठाको खाटमाथि अर्धनग्न अवस्थामा शव फेला परेको जानकारी बस्नेतले दिए। उनका अनुसार कम्मरदेखि माथिको भागमा कपडा थिएन ।

प्रहरी घटनास्थलमा पुग्दा शव रहेको कोठाको ढोका खुला थियो । ‘हात र शरीरका विभिन्न भागमा चोटपटक रहेको अवस्थामा शव फेला परेको हो । शव रहेको कोठा खुलै थियो,’ बस्नेतले भने, ‘घटनाको प्रकृति हेर्दा कुनै वस्तुले हिर्काएर हत्या गरेजस्तो देखिन्छ । घटना बुधबार रातिकै हो ।’

पदमबहादुरले ‘आमा रक्सीले मातेर लडिरहेकी छ’ भन्दै राति ८ बजेतिर छोरी रत्नालाई फोन गरेका थिए ।भोलिपल्ट बिहान हत्या भएको अवस्थामा आमाको शव भेटिएको र बुवा सम्पर्कविहीन बनेको भन्दै रत्नाले प्रहरीलाई फोन गरेकी हुन् । प्रहरीका अनुसार घरमा पदमबहादुर र मनमाया मात्रै बस्दै आएका थिए ।

छोरीको बिहे भइसकेको र छोरा वैदेशिक रोजगारीका लागि साउदीमा रहेको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार पदमबहादुरले मदिरा सेवन गरेर यसअघि पनि बारम्बार पत्नी मनमायालाई कुटपिट गर्ने गरेको स्थानीयले बताएका छन् । मदिरा सेवन गरेर पदमबहादुरले कुटपिट गर्न थालेपछि मनमाया साँझ ६ बजेतिर छिमेकीको शरणमा पुगेकी थिइन् । केही समयपछि उनी घर फर्किएकी थिइन् । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.