३० वैशाख , काठमाण्डौ ।
सर्वाेच्च शिखर सगरमाथामा सबैभन्दा बढी आरोहण गरेर विश्व कीर्तिमान काय राखेका पर्वतारोही कामिरिता शेर्पाले २९औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ७ बजेर २५ मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् । उनले सबैभन्दा बढी सगरमाथा चढ्ने आफ्नै पुरानो रेकर्ड तोडेका हुन् ।
उनी सेभेन समिट ट्रेक्सका तर्फबाट सगरमाथा आरोहणमा गएका हुन् । सेभेन समिट ट्रेक्सले सामाजिक सञ्जालमा भनेको छ, “यो आरोहणले कामिरितालाई ‘सगरमाथाको सबैभन्दा सफल आरोहण’ को व्यक्तिगत उपाधि दिलाएको छ ।” सेभेन समिट ट्रेकमा सिनियर गाईडका रुपमा कार्यरत कामिरिता सोलुखुम्बुको थामेका हुन् ।
५४ वर्षीय कामिरिताले दुई दशकभन्दा बढी समयदेखि हिमाल आरोहण गर्दै आइरहेका छन् । उनले सन् १९९२ मा सगरमाथा आरोहण अभियानमा सर्पोट स्टाफ सदस्यको रुपमा सामेल हुँदा सुरु गरेका थिए । विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेका हुन् ।
कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् । कामीरिताले सन् २०२३ मा एकैसातामा दुई पटक २८ र २७ औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसअघि सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए ।
कामीरिताले यसअघि सन् २००९, २०१०, २०१३ र २०१९ मा पनि एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका थिए । उनले सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।