१ जेठ , एजेन्सी ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन अमेरिकी सहायता प्याकेजबाट हतियारको आपूर्ति लिएर युक्रेन पुगेका छन् । युक्रेनले खार्किभमा रुसको ठूलो आक्रमको सामना गरिरहेको समयमा सहायता प्याकेजबाट यी हतियार आइपुगेका छन् । युक्रेनमा विदेशमन्त्री ब्लिन्केनले राष्ट्रपति भ्लादिमिर जेलेन्स्की र वरिष्ठ सरकारी अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
ब्लिन्केनले उनीहरूलाई युक्रेनलाई अमेरिकाले सहयोग गर्ने आश्वासन दिने अमेरिकी अधिकारीहरूले जनाएका छन् । तीन साताअघि अमेरिकाले युक्रेनका लागि संसदमा ६१ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको थियो । विगत एक वर्षदेखि यो प्याकेजलाई लिएर संसदमा विवाद चलिरहेको थियो ।
अमेरिकी अधिकारीहरूले युक्रेनले एयर डिफेन्स इन्टरसेप्टर, तोप र एटीएसीएम्एस लामो दूरीको सटीक स्ट्राइक मिसाइलहरू प्राप्त गर्न थालेको जनाएका छन् । अमेरिकी विदेशमन्त्री हतियार लिएर युक्रेन पुग्दा यता राष्ट्रपति जो बाइडेनले चिनियाँ स्वामित्वमा रहेको जग्गा बेच्न आदेश दिएका छन् ।
अमेरिकी न्यूक्लियर मिसाइल बेसको नजिक जासुसी हुन सक्ने विषयलाई चासो दिँदै चिनियाँ स्वामित्वमा रहेको क्रिप्टो करेन्सीको खानी रहेको जमिन बेच्न यसका साझेदारलाई बाइडेनले आदेश दिएका हुन् । चिनियाँ नागरिकको मुख्य स्वामित्व रहेको माइनवान पार्टनर्स नामको सो कम्पनीलाई आफ्नो सम्पति बेच्नका लागि ह्वाइट हाउसले १२० दिनको समय दिएको बताइएको छ ।
उक्त स्थानमा क्रिप्टो माइनिङ अपरेसन भइरहेको छ । सो खानी उओमिङमा रहेको एयर फोर्स बेसबाट एक माइलभन्दा कम अर्थात् एक दशमलव ६ किमीको दूरीमा रहेको छ । जहाँ इन्टरकन्टिनेन्टल बलिस्टीक मिसाइल थन्क्याइने गरेको जनाइएको छ । माइनवानले सो जमिन २०२२ मा किनेको र त्यसपछि त्यहाँ क्रिप्टोकरेन्सी खानीका लागि इक्विपमेन्ट जोडेको थियो ।