३ जेठ ,काठमाण्डौ ।
फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जनाको सूचीमा एशियाबाट काठमाडौंकी श्रेया गिरी छनौट भएकी छन् । फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा उनी सन् २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा परेकी हुन् । २८ वर्षीया गिरी मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुन् ।
लण्डनमा स्नातकोत्तर अध्ययन गरिरहँदा कोभिड महाव्याधी सुरु भएपछि उनले मानसिक स्वास्थ्य समस्या व्यहोरेकी थिइन । तर कोभिडको बेला अनलाइनबाट मानसिक परामर्श लिने कुनै सुविधा थिएन । अध्ययन सकेर नेपाल फर्किएपछि उनले ‘ह्याप्पी माइन्ड्स’ सुरु गरेकी हुन् ।
मानसिक स्वास्थ्य समस्या सिर्जित नकारात्मक दृष्टिकोण र विश्वासजन्य चुनौतीहरूविरुद्ध काम गर्न नेपाल फर्किएकी गिरीले सुरु गरेको ह्याप्पी माइन्ड्सले भौतिक र भर्चुअल रूपमा मानसिक परामर्श दिनुका साथै समूहमा विभिन्न वर्कसपहरू चलाउँदै आएको छ । यो भौतिक उपस्थितिका साथै अनलाइनबाट पनि मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म हो ।
संस्थाले विश्वका जुनसुकै स्थानमा रहेका नेपालीलाई सेवा दिन्छ । ‘ह्याप्पी माइण्ड्स् डट हेल्थ’ अनलाइनबाटै मानसिक स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने अनलाइन प्लेटफर्म हो। जीजी कर्पोरेसन प्रालिले सञ्चालनमा ल्याएको ह्याप्पी माइन्ड्स् डट हेल्थका माध्यमबाट मानसिक स्वास्थ्यसम्बन्धी जागरुकता बढाउने, मानसिक स्वच्छता र मानसिक स्वास्थ्यसम्बन्धी प्राथमिक चिकित्सकीय सहायता प्रदान गरिने उक्त संस्थाले बताएको छ।
मनोचिकित्सक डा. सुरज शाक्यको नेतृत्वमा ह्याप्पी माइण्ड्स् डट हेल्थमा नेपाल, अमेरिका र अष्ट्रेलियाका काम गरिरहेका अनुभवी नेपाली मनोविशेषज्ञ रहेका छन्। ह्याप्पी माइन्ड्स्की प्रबन्ध निर्देशक श्रेया गिरीले यो सेवा र प्लेटफर्मको अवधारणा ल्याएकी हुन् ।