जेठ १९ , काठमाण्डौ।
नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो । राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो ।
घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । सो दिन शुक्रबार बेलुकाको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो । उक्त दरबार हत्याकाण्ड २३ वर्षसम्म पनि रहस्यमयको गर्भमै छ । त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठह¥याए पनि त्यसलाई आमजनताले विश्वास गरेका छैनन् ।
तत्कालीन छानबिन समितिले युवराज दीपेन्द्रले हत्या गरेको भनी अपुष्ट तथ्य सार्वजनिक गरेको थियो । आफूले मन पराएको युवतीसँग विवाह गर्न नपाएको झोकमा नशालु पदार्थ सेवन गरी राजपरिवारका सदस्यहरूलाई मारेको र आफूले पनि आत्महत्या गरेको’ व्यहोराको निष्कर्ष समितिले निकालेको थियो । तर, उक्त प्रतिवेदनको दाबीलाई धेरैले विश्वास नगरेको पाइन्छ ।
सत्ताको पुगेका नेताहरूले बाहिर बस्दा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने वाचा गरे पनि पदमा पुगेपछि तिनको प्राथमिकतामा कहिल्यै परेको देखिँदैन । जेठ १९ गतेको दरबार हत्याकाण्ड अहिले हरेक वर्ष सम्झिएर मात्र बित्ने गरेको छ । दरबार हत्याकाण्डपछि नारायणहिटी राजदरबारलाई संग्राहलयमा परिणत गरिएको छ ।
वीरेन्द्रको परिवारले प्रयोग गरेका केही सामग्री संरक्षित भएका छन् भने हत्या भएको स्थान वीरेन्द्र सदन भने भत्काइएको छ । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । राजा वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन ।
उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन नसक्दा २०६२,६३ को जनआन्दोलनमार्फत पुनःस्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोसेको थियो । २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्रको अन्त्य भएको हो ।