१९ जेठ, काठमाण्डौ ।
बलिउड अभिनेता सलमान खानमाथि फेरि आक्रमण प्रयास भएको छ । तर त्यसलाई मुम्बई प्रहरीले असफल बनाएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ ।
उक्त पत्रिकाका अनुसार पनवेलमा सलमानको कारमा आक्रमण गर्ने योजना बनाएका लरेन्स बिश्नोई गिरोहका चार जनालाई नवी मुम्बई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकामा धनञ्जय उर्फ अजय कश्यप, गौरव भाटिया, वसिम चिकना र रिजवान खान छन् । आक्रमणका लागि आपूर्तिकर्तामार्फत पाकिस्तानबाट हतियार ल्याउने योजना पनि बनाइएको थियो ।
यस मामिलामा, प्रहरीले हालसम्म लरेन्स बिश्नोई, अनमोल बिश्नोई, गोल्डी ब्रारलगायत १८ जनाविरुद्ध एफआईआर दर्ता गरेको छ । केही मिडिया रिपोर्टमा दाबी गरिएको छ कि गिरोहले सलमानको फार्म हाउस र कयौं स्थानहरुको रेकी गरेका थिए ।
उनीहरुलाई सलमान खानमाथि एके ४७ सहित अन्य हतियारहरुले फायरिंग गर्न आदेश पनि प्राप्त भएको भारतीय प्रहरीले बताएको छ । प्रहरीले कयौं यस्ता भिडियोहरु पनि पक्राउ परेकाहरुको मोबाइलबाट बरामद गरेको छ ।
प्रहरीसंगको बयानका क्रममा पक्राउ परेकामध्ये अजय कश्यमले पाकिस्तानमा डोगा नामक एक व्यक्तिसंग सम्पर्क गरेको, जसले एम–ज्ञट, एके–द्धठ र एके–ढद्द खरिदका लागि काम गर्ने गरेको खुलेको छ ।
यसअघि १४ अप्रिलमा बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि बिहान ५ बजे गोली चलाइएको थियो । दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले ५ राउन्ड फायर गरेका थिए । गोली चलाउँदा सलमान आफ्नै घरमा थिए । घटनापछि सलमानको घरबाहिर सुरक्षा बढाइएको छ ।