२६ जेठ, एजेन्सी ।
टि ट्वान्टी विश्वकप अन्तर्गत नेपाल भएकै समूहमा रहेको बंगलादेशले श्रीलंकालाई २ विकेटले हराएको छ । १ सय २५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १ ओभर बाँकी रहँदा ८ विकेट गुमाउँदै जित हासिल गरेको थियो । एक समय २८ रनमा ३ विकेट गुमाइसकेको बंगलादेशका लागि टोहिड हृदोयले २० बलमा ३ छक्का र १ चौकासहित ४० रन बनाएपछि टोली जिततर्फ उन्मुख भएको थियो । लिटन दासले ३६ रन जोडे ।
मोह मुदुल्लाले नटआउट १६ रन बनाए । श्रीलंकाका नुआन थासराले ४ र वानिन्दु हसरंगाले २ विकेटले लिए । ड्यालस स्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरका ९ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो ।
श्रीलंकाका ओपनर पाथुम निसांकाले २८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए । धनन्जय डि सिल्भा २१, चरिथ असलंका १९ र एन्जिलो म्याथ्युजले १६ रन जोडे । कुशल मेन्डिस १०, कामिन्दु मेन्डिस ४, र दासुन शानकाले ३ रन बनाए । श्रीलंका एक समय ८.४ ओभरमा ७० रनमा २ विकेट मात्र गुमाएको थियो ।
मुश्ताफिजुर रहमानले पाथुम निसांकालाई आउट गरेपछि श्रीलंकाले खुलेर खेल्न सकेन । बंगलादेशका लेग स्पिनर रिसाद हसन र मुश्ताफिजुर रहमानले समान ३, तस्किन अहमदले २ र तान्जिम हसन सकिबले १ विकेट लिए । समूह डीमा श्रीलंकाले लगातार दोस्रो हार बेहोरेको छ । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो ।
दक्षिण अफ्रिका, नेदरल्याण्ड्स र बंगलादेशले १ खेल जितेका छन् । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग ६ विकेटले गुमाएको थियो । नेपाल र श्रीलंकाबीच मंगलबार अमेरिकाको फ्लोरिडामा खेल हुनेछ ।यता अफगानिस्तानले पनि न्युजिल्यान्डमाथि ८४ रनको सानदार जित हात पारेको छ । अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा न्युजिल्यान्डलाई कुनैपनि खेलमा पहिलो पटक हराएको हो ।
१६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.२ ओभरमा ७५ रनमा अल आउट भयो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले १८ बलमा २ चौकासहित सर्वाधिक १८ रन बनाए । ओपनर फिन एलेन शून्य, डेभन कन्वे ८, केन विलियम्सन ९, डर्याल मिचेल ५, मार्क च्यापम्यान र मिचेल सान्टनार ४–४ रनमा आउट भए । म्याट हेनरीले १८ बलमा १२ रन बनाए । न्युजिल्यान्डका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । अफगानिस्तानका कप्तान राशिद खानले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए ।
मोहम्मद नाबीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । फजलहक फारुकीले ३.२ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । त्यसअघि गायानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले ५६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रनको विजयी इनिङ खेले ।
ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले पहिलो विकेटका लागि १४.३ ओभरमा १०३ रनको शतकीय साझेदारी गरेका थिए । उक्त साझेदारी जितको आधार बन्यो । जद्रान ४१ बलमा ३ चौका र २ छक्कासहित ४४ तथा आजमतुल्लाह ओमरजाई १३ बलमा १ चौका र २ छक्कासहित २२ रनमा आउट भए । न्युजिल्यान्डका म्याट हेनरीले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा २२ रन खर्चेर २ र लोकी फर्गुसनले १ विकेट लिए ।
समूह सी मा अफगानिस्तान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । अफगानिस्तानले पहिलो खेलमा युगान्डालाई हराएको थियो । वेष्टइण्डिज १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । युगान्डा २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । पपुवा न्युगिनी चौथो र न्युजिल्यान्ड पुछारमा छन् । यस्तै एसोसिएट राष्ट्र क्यानाडाले टेस्ट राष्ट्र आयरल्यान्ड माथि जित दर्ता गर्दै एसोसिएट राष्ट्रको आइसिसी टि–२० विश्वकप २०२४ को सहभागितामा अर्को एक नयाँ आयाम थप गरेको छ ।
शुक्रवार न्यूयोर्कमा भएको खेलमा क्यानाडाले आयरल्यान्ड माथि क्यानाडाले १२ रनको जित निकालेको हो । बिहीबार मात्र अमेरिकाले बलियो टेस्ट राष्ट्र पाकिस्तानमाथि सनसनीपूर्ण जित दर्ता गरेको छ । त्यसको अर्को दिन नै क्यानाडाले आयरल्यान्डलाई हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको थियो । क्यानाडाका निकोलस किर्तन अर्धशतकबाट एक रनले चुके ।
उनले ३५ बलमा ३ चौका र २ छक्का सहित ४९ रन बनाए । यस्तै श्रेयस मोभ्भाले ३६ बलमा ३७ रन बनाए । पर्गत सिंहले १८ रन जोडे ।आयरल्यान्डका लागि क्रेज योङ र व्यारी मक्कार्थिले समान २–२ विकेट लिए भने जोशुवा लिटल र ग्यारेथ डिलेनीले १–१ विकेट लिए । जवाफमा आयरल्यान्डले ७ विकेटको क्षतिमा १२५ रन मात्र जोड्न सक्यो । आयरल्यान्डका लागि मार्क अडेयरको ३४ रन नी सर्वाधिक रह्यो । उनले २४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।
यस्तै जर्ज डकरेलले ३० रन जोडे । क्यानाडाको जितमा जेरेमी गोर्डन र डिलन हेलिगरले २–२ तथा जुनेद सिद्दिकी र साद विन जफरले १–१ विकेट लिए । समूह ए मा क्यानाडाको २ खेलमा यो पहिलो जित हो । आयरल्यान्डको भने यो २ खेलमा दोस्रो हार हो । यस समूहमा अमेरिकाको २ खेलमा ४ अंक रहेको छ । भारतको १ खेलमा २ अंक छ भने पाकिस्तान १ खेलमा अंकविहिन छ ।
विश्वकपमा आज नेदरल्यान्ड्सले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्दै छ । यो खेल अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार, राति ८ः१५ बजे सुरु हुनेछ । दक्षिण अफ्रिका र नेदरल्यान्ड्स प्रतियोगिताको समूह ‘डी’ मा छन् । नेपाल, श्रीलङ्का र बङ्गलादेश पनि त्यही समूहमा रहेका छन् । जारी विश्वकपमा नेदरल्यान्ड्स र दक्षिण अफ्रिका दुवैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।
दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र श्रीलङ्कालाई ६ विकेटले हराएको थियो । नेदरल्यान्ड्सले भने आफ्नो पहिलो खेलमा नेपाललाई ६ विकेटले पराजित गरेको थियो । त्यसैले आज हुने खेलमा यी दुबै टोली एकअर्कालाई हराउँदै सुपर–८ चरणमा पुग्ने सम्भावना बलियो बनाउने धुनमा रहने छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिका सातौँ र नेदरल्यान्ड्स १५औँ स्थानमा छन् । दक्षिण अफ्रिका र नेदरल्यान्ड्स दुबै अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सिधै विश्वकपको नवौँ संस्करणमा उपस्थित भएका हुन् । दक्षिण अफ्रिकाले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ ।
तर, दक्षिण अफ्रिका हालसम्म टी–२० विश्वकपको सेमिफाइनल चरणभन्दा अगाडि बढ्न सकेको छैन । अर्कोतिर, टी–२० विश्वकपमा नेदरल्यान्ड्सको यो छैटौँ सहभागिता हो । नेदरल्यान्ड्सले सन् २००९ मा सम्पन्न दोस्रो संस्करणदेखि टी–२० विश्वकपमा सहभागिता जनाउन थालेको हो । तर, नेदरल्यान्ड्स टी–२० विश्वकपमा सुपर–१२ चरणभन्दा अगाडि बढ्न सकेको छैन ।
यस्तै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिका र नेदरल्यान्ड्सबिच हालसम्म दुई खेल खेलिएको छ । त्यसमध्ये एक खेलमा दक्षिण अफ्रिका र एक खेलमा नेदरल्यान्ड्स विजयी भएका छन् । पछिल्लो पटक सन् २०२२ को नोभेम्बर ६ तारिखमा यी दुई टोली आपसमा भिडेका थिए । त्यो खेलमा नेदरल्यान्ड्स १३ रनले विजयी भएको थियो । यस्तै आज बेलुका समूह ‘बी’ का अस्ट्रेलिया र इंग्ल्यान्ड खेल्दैछन् । इंग्ल्यान्ड टी–२० विश्वकपको साविक विजेता टोली हो ।