आज तुलसीको दल राख्ने दिन, निर्जला एकादशीको महत्व के छ ?

४ असार ८१, मंगलबार

४ असार, विराटनगर ।

वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ ।

यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ ।

Advertisement

चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरु बताउँछन् । सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनीहरुको भनाइ छ ।

आयुर्वेदिकरूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ ।

Advertisement

वैष्णव परम्परामा यो दिन निर्जल (पानीसमेत नपिई) व्रत बस्ने परम्परा छ। दिनभर व्रत बसी भगवान् विष्णुको पूजाआराधना गर्ने र माहत्म्य वाचन श्रवण गरिन्छ।

एकादशी भगवान् विष्णुसँग सम्बन्धित पर्व हो। एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने र माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ।

एकादशी शुक्ल र कृष्ण पक्षमा गरी महिनामा दुई पटक पर्छ। निर्जला एकादशीमा दान गर्यौ भने मोक्षको द्वार खुल्ने समेत विश्वास गरिन्छ ।

तुलसीको बीउलाई ज्येष्ठ शुक्ल पक्षमा निर्जला एकादशीका दिनको साइत पारेर रोपिन्छ । अनि आषाढ शुक्ल पक्षमा पर्ने एकादशीका दिन तुलसी रोपिन्छ, यसै दिनदेखि भगवान् हरि शयन गर्नुहुन्छ, त्यस कारण यसलाई हरिशयनी एकादशी भनिएको हो ।

हरिशयनी एकादशीका दिन रोपिएका तुलसीलाई भगवान् शयनबाट ब्युँझेको दिन अर्थात् हरिबोधिनी एकादशीका दिन ठूलो, लामो साल, सल्लो वा बाँसको लिङ्गो तुलसीको मठको नजिकै गाडिन्छ, अनि बेमरा, फूलको मालासहित तुलसीको विवाह गरिदिने प्रचलन छ, यसलाई ‘तुलसी विवाह’ भनिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top