१० असार ,एजेन्सी ।
युरो २०२४ को आयोजक जर्मनी समूह ए विजेता बनेको छ । निकलस फुलक्रगले इन्जुरी टाइममा गोल गरेपछि जर्मनीले स्विट्जरल्याण्डसँग १–१ को बराबरी खेल्दै समूह ए विजेता बनेको हो । यसअघि नै समूह ए मा लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरिसकेको जर्मनीका लागि समूह विजेता बन्न बराबरी नै पर्याप्त थियो ।
तर डान एनडोएले २८औं मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । हार नजिक पुगेको जर्मनीका लागि फुलक्रगले इन्जुरी टाइमको दोस्रो मिनेटमा बराबरी गोल गरेका हुन् । बराबरीपछि जर्मनी तीन खेलबाट ७ अंक जोड्दै समूह ए को विजेता बनेको हो ।
स्विट्जरल्याण्ड ३ खेलबाट ५ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । पहिलो खेलमा हंगेरीलाई हराएको स्विट्जरल्याण्डले स्कटल्याण्डसँग पनि बराबरी खेलेको थियो । यस्तै समूह ए कै अर्को खेलमा हंगेरीले स्कटल्याण्डलाई १–० ले हराएर पहिलो जित निकाल्यो ।
यसअघि लगातार दुई खेल हारेको हंगेरीलाई पहिलो जित दिलाउन केभिन कोबोथले इन्जुरी टाइमको दशौँ मिनेटमा गोल गरे । जितपछि हंगेरी ३ खेलबाट ३ अंक जोडेर समूह ए को तेस्रो स्थानमा छ । हंगेरीका लागि तेस्रो हुने मध्ये उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा पुग्ने सम्भावना बाँकी नै छ ।
त्यसका लागि समूह चरणका बाँकी खेलहरुको नतिजा कुर्नुपर्नेछ । उता स्कटल्याण्ड भने जितविहीन हुँदै समूह चरणबाट बाहिरिएको छ । स्कटल्याण्ड पहिलो खेलमा जर्मनीसँग पराजित भएको थियो भने दोस्रो खेलमा स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो । तीन खेलबाट १ अंक मात्र जोडेको स्कटल्याण्ड जारी युरोबाट बाहिरिने पहिलो टिम बनेको हो ।