१० असार , विराटनगर।
इङ्ल्यान्ड र दक्षिण अफ्रिका आईसीसी टी २० विश्वकप २०२४ को सेमिफाइनलमा पुगेका छन् । आज विहान भएको खेलमा दक्षिण अफ्रिकाले सुपर–८ अन्तर्गत वेष्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । दक्षिण अफ्रिका सुपर–८ को ग्रुप बी बाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।
जारी विश्वकपमा दक्षिण अफ्रिकाको लगातार सातौं जित हो । १२३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । १३६ रनको लक्ष्य पछ्याउनेक्रममा दक्षिण अफ्रिका २ ओभरमा १५–२ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । पुन ः खेल सुरु हुन ढिलो हुँदा तीन ओभर घटेको थियो ।
दक्षिण अफ्रिका जितमा युवा ब्याटर ट्रिस्टन स्टब्सले २७ बलमा ४ चौकासहित सर्वाधिक २९ रन बनाए । ओपनर क्विन्टन डि कक १२, रिजा हेन्ड्रिक्स शून्य, एडेन माक्ररम १८ र डेविड मिलर ४ रनमा बोल्ड आउट भए । मार्को यानसन १४ बलमा १ चौका र १ छक्कासहित २१ र कागिसो रबाडा ५ रनमा नट आउट रहे ।
वेष्टइण्डिजका रोश्टन चेशले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । आन्द्रे रसेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । त्यसअघि सर भिभियन रिचर्ड्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्टइण्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । रोश्टन चेशले ४२ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन जोडे ।
ओपनर साई होप शून्य र निकोलस पुरन १ रनमा गुमाउदा वेष्टइण्डिज ५–२ को अवस्थामा पुगेको थियो । तेस्रो विकेटलाई काइल मेयर्स र रोश्टन चेशले ६५ बलमा ८१ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । मेयर्स ३४ बलमा ३ चौका र २ छक्कासहित ३५ रनमा क्याच आउट भए । मेयर्स क्याच आउट हुँदा वेष्टइण्डिज १२ ओभरमा ८६–३ को अवस्थामा थियो ।
आन्द्रे रसेल ९ बलमा २ छक्कासहित १५, अल्जारी जोशेफले ११, रोभम्यान पावेल १ र शेर्फान रदरफोर्ड शून्यमा क्याच आउट भएका थिए ।स्पिनर तबरेज शाम्सीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । केशव महाराज, एडेन माक्ररम र मार्को यानसनले १–१ विकेट लिए । ग्रुप–२ बाट दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्ड ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रह्यो ।
सेमिफाइनलमा दक्षिण अफ्रिकाले ग्रुप १ को उपविजेता र इंग्ल्यान्डले विजेतासँग खेल्नेछ । ग्रुप १ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ । दक्षिण अफ्रिका टी–२० विश्वकप इतिहासमा तेस्रो पटक सेमिफाइनलमा पुगेको हो । यसअघि टी२० विश्वकपमा दक्षिण अफ्रिका सन् २००९ र २०१४ मा सेमिफाइनल खेलेको थियो । अन्य संस्करणमा भने सेमिफाइनलमा पुग्न सकेको थिएन ।
यस्तै गएराती भएको खेलमा अमेरिकाविरुद्ध सानदार जित दर्ता गर्दै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको थियो । इङ्ल्यान्डले आइतबार अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । अमेरिकाले दिएको ११६ रनको लक्ष्य इङ्ल्यान्डले ९.४ ओभरमै कुनै विकेट नगुमाई भेटायो । इङ्ल्यान्डको जितमा कप्तान जस बटलरले ३८ बलमा ६ चौका र ७ छक्का सहित ८३ रनमा नटआउट रहे ।
फिल साल्ट २१ बलमा २५ रनमा नटआउट रहे । त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिका १८.५ ओभरमा १ सय १५ रनमा समेटियो । नितिश कुमारले सर्वाधिक ३० रन बनाउँदा कोरी एन्डरसनले २९ रन जोडे । हर्मित सिंहले २१ तथा स्टेभेन टेलरले १२ रन बनाए । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ह्याट्रिक सहित ४ विकेट लिए । स्याम करन र आदिल राशिदले २–२ तथा लियम लिभिङस्टोनले १ विकेट लिए ।
जित पछि सुपर एटको समूह २ मा ३ खेलबाट ४ अंक सँगै इङ्ल्यान्ड अन्तिम चारमा पुगेको छ । सहआयोजक रहेको अमेरिका भने विना अंक बाहिरिएको छ । विश्वकपमा पहिलो पटक सहभागिता जनाएको अमेरिकाका लागि यो नै अहिलेसम्मको ठूलो उपलब्धि हो । अर्को सहआयोजक वेस्ट इन्डिज पनि २ अंकका साथ बाहिरिएको छ । अब आज अर्को खेल भारत र अस्ट्रेलियाबीच हुने छ ।
सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि हुने छ । भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ भने अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो । सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ भने भारत शीर्षस्थानमा रहेकाले तुलनात्मक रुपमा कम दबाबमा रहेको छ ।