१० असार , विराटनगर ।
सरकारले निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी सरुवा गरेको हो ।
मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दा दायर भएपछि स्वतः निलम्बित भएको र अहिलेलाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी अर्याललाई सरुवा गर्ने निर्णय भएको जानकारी दिइन् ।
उनले अर्यालको अवधिभर उक्त विशेष पद कायम रहने पनि जानकारी गराइन् । अख्तियारले हिजो मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाई खरिदमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अर्याल सचिवको ५ वर्ष कार्याकाल सकेर घर जाने ३ दिन अगाडि मात्रै मुख्यसचिवमा बाजी मार्न सफल भएका व्यक्ति हुन् । २०८० असार ३ गते कार्याकाल सकिन अगाडि सचिव पदबाट राजीनामा दिएका थिए ।
राजीनामा स्वीकृति नहुँदै अर्यालले सेटिङ मिलाउन सकेकै कारण कार्यकाल सकिन लागेका तत्कालीन मुख्यसचिव शंकरदास वैरागीलाई राजीनामा गराएर ३२ जेठमै मुख्यसचिव बनेका थिए ।
यता साढे तीन महिना कार्यकाल बाँकी रहेका मुख्यसचिव शंकरदास बैरागीले प्रचण्डसँगको ‘सेटिङ’ मा अर्यालका लागि बाटो खोलिदिएर त्यसबापत उनले हातहातै मन्त्रीस्तरको राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति पाए ।
यता कर्मचारी प्रशासनमा रहँदा सञ्चार मन्त्रालयमा सचिव भएपछि देखिनै वैकुण्ठ अर्यालले गरेको निर्णयमा विवाद बढ्न थालेको थियो । त्यसपछि एकपछि अर्को मुद्दामा अर्याल मुछिएका हुन् ।
उनले सञ्चारसचिव भएको बेला राष्ट्रिय भुक्तानी प्रणाली, टेरामक्स, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सहित टेलिकमको अनियमितता, इन्टरनेट सेवा प्रदायक(आईएसपी)हरूको राजस्व छुट दिएको सम्बन्धि निर्णय विवादमा आएको छ भने त्यसमा समेत अर्याल जोडिएका छन् ।
अदालतबाट मुद्दा जितेमा अर्यालले अब योजना आयोगमा पदबहाली गर्नु पर्ने छ ।अर्याल निलम्बनमा परेपछि निमित्त मुख्य सचिवको जिम्मेवारी लिलादेवी गड्तौलालाई दिइएको छ । गड्तौला प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव हुन् ।
मुख्यसचिवको नियुक्ति नहुँदासम्म प्रधानमन्त्री कार्यालयमा रहेका वरिष्ठ सचिवले निमित्त मुख्य सचिवको जिम्मेवारी पाउनेछन् । गड्तौलाले अब अर्को मुख्य सचिव नियुक्त नभएसम्म कामु मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् ।
सरकारले अनुकलका मुख्यसचिव ल्याउने वातावरण नबन्दासम्म केही समय कायममुकायम मुख्यसचिव नियुक्त गरेर राख्ने सम्भावना पनि रहेको देखिन्छ । यता अर्याललाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिव सरहकै विशेष पदमा सरुवा गरेर सरकारले नयाँ मुख्यसचिव नियुक्तिको बाटो खोलेको हो ।
यद्यपी अर्याल मुद्दा जितेर फर्किने सम्भावना समेत हुने भएकाले तत्काल नयाँ मुख्यसचिव नियुक्त गर्नकै लागि सरकारले डा. अर्याललाई अतिरिक्त पद नै सिर्जना गरेर व्यवस्थापन गरेको हो ।
अब अर्यालले भ्रष्टाचार मुद्दामा सफाइ पाएपनि प्रधानमन्त्री कार्यालयमा फर्किएर काम गर्न पाउने छैनन् । मुख्यसचिव पद एउटा मात्र भएकाले तत्काल कसैलाई जिम्मेवारी दिँदा मुद्दा जितेर अर्याल फर्किएमा उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने अप्ठेरो पर्न सक्ने सम्भावना यो निर्णयसँगै टरेको छ ।
यससंगै मुख्यसचिवका लागि दौडधूप सुरु भएको छ । हाल तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनाराण अर्याल र अर्जुन पोखरेल मुख्यसचिवको प्रतिस्पर्धामा छन् । वरीयताको तेस्रो नम्बरमा रहेका भट्टराई र चौथो नम्बरमा रहेका अर्यालमध्ये एकलाई जिम्मेवारी दिनेगरी राजनीतिक तहमा छलफल सुरु भएको छ ।
सचिव ज्ञवाली भदौमा, सुवेदी कार्तिकमा, भट्टराई माघ अन्तिममा, अर्याल फागुनमा र पोखरेल २०८२ वैशाख २ गते अवकाश हुँदैछन् । ज्ञवाली हाल राष्ट्रिय योजना आयोगमा, सुवेदी सञ्चारमा, भट्टराई महिला बालबालिका मन्त्रालयमा र अर्याल गृहमन्त्रालयको जिम्मेवारीमा छन्।
स्वभाविक रुपमा सबै सचिवहरुमध्ये वरिष्ठताका आधारमा मुख्यसचिव नियुक्त गरिएमा योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पनि निमित्त मुख्यसचिव बन्न सक्छन् ।
ज्ञवालीले आगामी भदौमा सचिव पदबाट अवकाश पाउने अवस्था रहेकाले उनी मुख्यसचिवका मुख्य दावेदार हुन् । तर, मुख्यसचिव पदमा सत्तारुढ दलहरुले अनुकूलका पात्र खोज्ने प्रवृत्ति मौलाएकाले ज्ञवालीले अवसर नपाउने अनुमान सिंहदरबारभित्र लागाइँदैछ ।
भागबण्डामा मुख्यसचिव पद माओवादीले पाएमा हालका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको सम्भावना छ । सत्तारुढ एमालेले चाहेको अनुसार भए एकनारायण अर्याल मुख्यसचिव बन्नसक्ने अनुमान छ ।
तर, सिंहदरबारमा शक्ति केन्द्र र स्वार्थ समूहहरुले पनि आफूअनुकूलका मुख्य सचिव ल्याउन प्रयास गर्ने भएकाले अन्य सचिवहरु पनि मुख्यसचिव बन्ने सम्भावना टरेको छैन ।
यता अर्यालसँगै अर्थ मन्त्रालयको बजेट महाशाखाका प्रमुख रितेशकुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे पनि निलम्बित भएका छन् ।
ठेक्का सम्झौता हुँदा शाक्य आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक थिए भने पाण्डे आन्तरिक राजस्व विभागका उपमहानिर्देशक थिए ।
प्रतिवादी बनाइएका अन्य सरकारी कर्मचारीहरू गणेशविक्रम शाही, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिवल्लभ घिमिरे, शक्तिप्रसाद श्रेष्ठ पनि आआफ्ना जिम्मेवारीबाट निलम्बनमा परेका छन् ।
यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।
यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।