१० असार , काठमाण्डौ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पहिलो पटक मेयर बालेन शाह सार्वजनिक रुपमा संयमित र मर्यादित भएर आफ्ना अभिव्यक्ति दिन आग्रह गरेकी छन् ।
महानगरपालिकाको आगमाी आर्थिक वर्षको बजेट सार्वजनिक कार्यक्रम अघिको छलफल कार्यक्रममा महानगरपालिकाको नगर सभालाई सम्बोधन गर्ने क्रममा वडाध्यक्ष र सदस्यहरुले मेयरको तीव्र आलोचना गरेपछि उपमेयरले दुवै पक्षलाई संयमित हुन आग्रह गरेकी हुन् ।
उनले मेयरलाई सम्बोधन गर्दै पदको गरिमा कायम राख्न र फरक मतको सम्मान गर्न सुझाव दिएकी छन् । मेयर बालेन र आफू दुवैजना राजनीतिमा नयाँ युवा पुस्तालाई मानक बनाउन आएको भन्दै आफूहरुलाई संसारले हेरेको बताइन् ।
उनले मेयरलाई विशेष अनुरोध गर्दै आफूले बोल्ने कुरा संसारको युवालाई प्रभावित पार्ने हुनुपर्ने बताइन् । उनले अभिव्यक्तिलाई मर्यादित र संस्थागत छवि बिगार्न भन्दा पनि पदको मर्यादामा रहेर बोल्न आग्रह गरिन् । उनले भनेकी छन् ,फरक मत सबैतिर हुन्छ । फरक मतलाई पनि हामीले सम्मान गर्नुपर्छ । राजनीतिमा युवा आउनुपर्ने उदाहरण दिइरहेका छौं । यो उदाहरण दिने सँगसँगै हाम्रो काँधमा जिम्मेवारी पनि रहेको कुरा सम्झनुपर्छ । प्रमुख ज्युलाई पनि म विशेष अनुरोध गर्न चाहन्छु । तपाई म जस्ता राजनीतिमा आउने व्यक्तिहरूले व्यक्तिभन्दा माथि उठेर पनि सोच्नुपर्छ । हामीले काम गरिरहँदा संस्थागत छविलाई कदापि बिगार्नु हुँदैन । पदमा बसिसकेपछि पदको मयार्दलाई अभिव्यक्ति राख्नुपर्छ । त्यो उदाहरण कसैले होइन तपाइ म र हामी सबैले बनाउनुपर्छ । हामीले आफैले नै उदाहरण बनाउन नसक्ने हो, मनमा जे जे आयो बोल्ने हो भने कपो कल्पित कुरालाई आफ्नो अभिव्यक्तिका रूपमा ल्याउने हो भने त्यसले समाजमा अराजकता निम्त्याउँछ । त्यसैले हामीले पदको मर्म बुझेर अभिव्यक्ति दिनुपर्छ । सिंहदरबार जलाउनु ठिक हैन भने, काठमाडौंको दरबार जलाउनु भनेर बोलिनु पनि ठिक होइन । यस्ता अभिव्यक्तिहरू कदापि राख्नु हुँदैन ।
उनले फरक मत र विचार राख्नेलाई उपमा दिँदै नहिड्न समेत सुझाव दिएकी छन् । यसअघि काठमाडौं महानगरपालिकाको नगरसभामा तीन दलका जनप्रतिनिधिले मेयर बालेन शाहप्रति असन्तुष्टि जनाएका छन् ।
राष्ट्रिय सभागृहमा भइरहेको नगर सभामा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादीका जनप्रतिनिधिले मेयरको फेसबुक स्टाटसप्रति असन्तुष्टि जनाएका हुन् ।
नगरको नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाएको अघिल्लो बैठकमा तीन दलका नेताहरुले संयुक्त रुपमा संशोधन हाल्न खोजेका थिए । त्यसका लागि एक घन्टा समय माग्दा अस्वीकार गरेका मेयर बालेनले बैठक स्थगित गरे ।
लगतै उनले ती नेताले १६० जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भएको भन्दै फेसबुकमा लेखेका थिए, ‘काठमाडौं महानगरको कुनै पनि नीति योजनाबारे छलफल बन्द कोठामा हुँदैन, जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुछ ।’
मेयर बालेनको त्यही स्टाटसमा तीन दलका जनप्रतिनिधिले असन्तुष्टि जनाएका हुन् । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नविन मानन्धर, एमालेबाट निर्वाचित वडाध्यक्ष नवराज पराजुली र एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष ईश्वरमान डंगोलले दुई वर्षसम्म मिलेर काम गर्दा पनि आरोपित गरेको गुनासो गरे ।
उनीहरुले आफूहरुले साझा रुपमा संशोधन प्रस्ताव तयार पारेको भन्दै पेश गरेका छन् ।