११ असार , एजेन्सी ।
अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । अस्ट्रेलिया आईसीसी टी २० विश्वकप क्रिकेटको सुपर ८ बाटै बाहिरिएपछि वार्नरले १५ वर्षे अन्तर्राष्ट्रिय करियरमा पूर्णबिराम लगाएका हुन् । हिजो राती सुपर–८ को आफ्नो अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध २४ रनको जित निकाल्दै भारत आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भारतले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८१ रनमात्र बनाउन सक्यो । आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा वार्नरले भारतविरुद्ध मात्र ६ रन बनाउन सके । वार्नरले आफ्नो अन्तिम वान डे गत नोभेम्बरमा भएको विश्वकपमा भारतविरुद्ध र टेष्ट गत जनवरीमा पाकिस्तानविरुद्ध खेलेका थिए ।
३७ वर्षे वार्नरले पहिलो टी २० र पहिलो वान डे २००९ को जेनवरीमा साउथ अफ्रिकाविरुद्ध तथा पहिलो टेष्ट २०११ मा न्युजिल्यान्डविरुद्ध खेलेका थिए । आफ्नो अन्तर्राष्ट्रिय करियरमा उनले ११२ वटा टेष्ट म्याचमा ८,७८६ रन, १६१ वटा वान डेमा ६,९३२ रन र ११० वटा टी २० मा ३,२७७ रन बनाएका छन् । आज विहान भएको खेलमा अफगानिस्तान सेमिफाइनलमा पुगेसँगै अष्ट्रेलिया सुपर–८ बाटै बाहिरिएको हो ।
यता समूह १ बाट इन्डिया शीर्ष स्थान र अफगानिस्तान दोस्रो हुँदै सेमिफाइनल पुगेका छन् । समूह २ बाट साउथ अफ्रिका शीर्ष स्थानमा रहँदा इंग्ल्याण्ड दोस्रो भएर सेमीफाइनलमा पुगेको हो । तालिकाको तेस्रो स्थानमा सीमित बनेको अस्ट्रेलियाले तीन खेलबाट दुई अंकमात्र जोड्न सक्यो ।a