१४ असार ,काठमाडौं।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कांग्रेस र एमालेका नेताका नाममा करोडौँको कार्यक्रम गर्न नमन्दा नगरसभा बैठक रोकिएको बताएका छन् । शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत मेयर शाहले कांग्रेसका संस्थापक बीपी कोइराला र एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बजेट छुट्टाउन नमान्दा नगरसभा बैठक रोकिएको बताए ।
‘एमाले, कांग्रेसले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ,’ उनले लेखेका छन् । स्वतन्त्र सेनानी सहिदहरू भन्दा आफ्नो नेताहरूको योगदान धेरै देखेको मेयर शाहको आरोप छ । ‘सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला ।
त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ,’ उनले भने । बैठक आज विहान ८ बजे बोलाइएको थियो । आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने तयारी थियो। तर बैठकमा मेयर बालेन शाह नै नआएको काठमाडौं महानगरपालिका १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले बताएका छन् । काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बैठकमा छलफल गर्न तयारी नपुगेकाले नगरसभा स्थगित गरिएको बताएका छन् ।
गत सोमबारको नगरसभा बैठकमा चार दलका जनप्रतिनिधिले नीति तथा कार्यक्रममा साझा संशोधन हाले पनि त्यसलाई बालेनले स्वीकार गरेका थिएनन् । नीति तथा कार्यक्रम पारित नगरिकन बजेट प्रस्तुत गरिएको थियो । कार्यक्रममा उपमेयर सुनिता डंगोलले भने सबै पक्षलाई मिलेर जान सुझाएकी थिइन । उनले मेयर बालेनलाई समेत सच्चिन सुझाव दिएकी थिइन ।
बालेनले नेताका नाममा बजेट नदिएपछि बैठक स्थगित भएको बताइरहदा बालेनले काठमाडौं महानगरपालिकाको मेयर भएको पहिलोवर्ष नेताका नामका प्रतिष्ठान, फाउन्डेसन र संघ–संस्थालाई १२ करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको पाइएको छ । महालेखाको प्रतिवेदन अनुशार उनले ती प्रतिष्ठान, फाउन्डेसन र संघसंस्थालाई अनुदान स्वरुप उक्त रकम आर्थिक वर्ष २०७९÷८० मा उपलब्ध गरेका हुन् ।
महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९÷८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा यसरी बाँडिएको रकमको सम्बन्धमा प्रश्न उठाइएको छ । प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०७९÷८० मा संघीय तथा प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम र पालिकाबाट स्वीकृत नीति तथा कार्यक्रम अनुसार करिब १०० जना विशिष्ट व्यक्तिहरुका नाममा स्थापित प्रतिष्ठान, फाउन्डेसन र अन्य संघसंस्थालाई अनुदान रकम वितरण गरिएको छ ।
प्रतिवेदनमा मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ३० लाख रुपैयाँ, बीपी कोइराला प्रतिष्ठानलाई १ करोड २० लाख रुपैयाँ, पुष्पलाल स्मृति प्रतिष्ठानलाई १ करोड २० लाख रुपैयाँ र गणेशमान सिंह प्रतिष्ठानलाई १ करोड २० लाख रुपैयाँ अनुदान स्वरुप उपलब्ध गरिएको उल्लेख गरिएको छ ।
यस्तै, आर्थिक वर्ष २०७९÷८० मा जीपी कोइराला प्रतिष्ठानलाई १ करोड २० लाख रुपैयाँ, सुशील कोइराला प्रतिष्ठानलाई १ करोड २० लाख रुपैयाँ, रामराजाप्रसाद सिंह प्रतिष्ठानलाई ७५ लाख रुपैयाँ, गजेन्द्रनारायण सिंह प्रतिष्ठानलाई ७५ लाख रुपैयाँ, पोष्टबहादुर बोगटी फाउण्डेशनलाई ७५ लाख रुपैयाँ र महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानलाई ६० लाख रुपैयाँ अनुदान स्वरुप प्रदान गरिएको प्रतिवेदनमा देखाइएको छ ।
त्यहीवर्ष सहिद प्रतिष्ठान नेपाललाई ७५ लाख रुपैयाँ, शहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशन नेपाललाई ७५ लाख रुपैयाँ, इन्द्रेणी सांस्कृतिक विकास केन्द्रलाई ७५ लाख रुपैयाँ र प्रज्ञास्मृति प्रतिष्ठान चितवन का.म.पा. रुद्रमतीलाई ७५ लाख रुपैयाँ अनुदान स्वरुप दिइएको छ ।