प्रचण्डको चलेन जादु , राजीनामा पनि नदिने

१८ असार ८१, मंगलबार
Share this
791shares

१८ असार, काठमाण्डौ।

Advertisement

सोमबार दिनभर आमचासोदेखि राजनीतिक बृत्तसम्मै वर्तमान सरकार के हुन्छ भन्ने कौतुहलता चिर्दै अन्ततः मध्यरात संसदमा भएका पहिलो र दोस्रो ठूलो दलबीच नयाँ सरकार गठनका लागि नयाँ सहमति भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीचमा भएको सो सहमतिले वर्तमान प्रचण्ड नेतृत्वको सरकार ढल्ने र एमाले–कांग्रेस मिलेर नयाँ सरकार बन्ने निश्चित भयो ।यससंगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउनका लागि आज विहानैदेखि दुवै दलले दौडधुप गरिरहेका छन् ।

कांग्रेस र एमालेबीच अबको २ वर्ष ओलीको र त्यसपछि चुनावसम्म देउवाको नेतृत्वमा सरकार बनाउने समझदारी भएको छ । यो सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन ओली र देउवाले संयुक्त रुपमा आह्वान गर्नेछन् । संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी कांग्रेस र एमालेबीच गठबन्धन गर्ने सहमति बनेको छ ।समझदारीमा सोमवार राति नै हस्ताक्षर भएको छ ।

Advertisement

एमाले अध्यक्ष र कांग्रेस सभापतिबीच भएको ७ बुँदे समझदारीमा
१.ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने ।

२.प्रदेश सरकारहरुमा ३÷३ वटा सरकार बाँड्ने। मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्व दिने ।

Advertisement

३.संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी ।

४.प्रतिनिधि सभा र राष्ट्यि सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने।

५.पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने ।

६.संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने ।

७.प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने।उल्लेख छ ।

यससंगै संसद्का दुई ठूला दल संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन्  । निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि बनेको छ । आयोगले दिने सुझावका आधारमा संविधान संशोधनमा जाने र निर्वाचन प्रणाली सुधार गरी राजनीतिक स्थायित्व प्रत्याभूत गर्ने उनीहरूको दाबी छ ।

राष्ट्रिय सहमतिको सरकार सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने लक्ष्य कांग्रेस र एमालेको छ । ‘सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ९ र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने प्रारम्भिक समझदारी छ । तर, राष्ट्रिय सहमतिकै सरकार बनाउने प्रयास भएकाले मन्त्रालयको संख्या तलमाथि हुन सक्छ,’ कांग्रेसका एक नेताले भने ।

कांग्रेस–एमालेको सहमतिसँगै निर्वाचनयता डेढ वर्षको बीचमा तीन पटक गठबन्धन फेरेका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ । एमाले सरकारबाट अलग भएर समर्थन फिर्ता लिनासाथ दाहाल अल्पमतमा पर्नेछन् । त्यसो हुँदा उनलाई तत्काल राजीनामा दिने वा विश्वासको मत लिने विकल्प हुनेछ । तर उनले राजीनामा नदिने भएका छन् ।

बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताएका छन् । कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न दाहालले बालुवाटारमा बैठक डाकेका थिए । दुई ठूला दल मिलेपछि वैकल्पिक सरकार गठनको सम्भावना नरहेकाले राजीनामा दिएर राजनीतिक कदम चाल्न उपयुक्त हुने सुझाव केही नेताले दिएका थिए ।

राजीनामा दिँदा नयाँ सरकार गठनको बाटो खुल्ने थियो ।अब प्रधानमन्त्रीले राजीनामा नदिने अडानसँगै एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरेको छ । त्यसो गर्दा प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिन पाउने सुविधा संविधानले दिएको छ । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

उनले विश्वासको मत पाएनन् भने नयाँ सरकारको बाटो खुल्नेछ । राजनीतिको विकसित घटनाक्रमबारे देउवा र ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई समेत मध्यरातमै जानकारी गराएका छन । यता प्रचण्ड नेतृत्वको सरकारमा रहेको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठबन्धनको सरकारमा नजाने निर्णय गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top