देउवा–ओलीको मिलनलाई बालेनले भने, काले काले मिलेर खाउ भाले

१८ असार ८१, मंगलबार

१८ असार, काठमाण्डौ।
राजनीतिक घटनाक्रमहरुमा तिखो प्रहार गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ गठबन्धन गर्ने सहमति भएपछि कडा टिप्पणी गरेका छन् । सोमबार मध्यरातमा एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच एमाले नेतृत्त्वमा सरकार गठनलाई समर्थन गर्ने सहमति भएको छ ।

Advertisement

जसमा ओलीलाई २ वर्ष प्रधानमन्त्री बनाउने र देउवालाई बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बनाउने सहमति भएको छ । यसैलाई लक्षित गर्दै आफ्नो फेसबुक पेजमा बालेनले ओली र देउवाको चिया खादै गरेको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले ।’ उनले आफ्नो उक्त फेसबुक स्ट्याटसको कमेन्टमा नारायण गाउँलेको टिप्पणी पनि पोस्ट गरेका छन् ।

‘गिरीबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा ‘एकपल्ट’लाई बेच्न दिने ‘विधेयक’ संसद्बाट पास भएछ !,’ कमेन्टमा उल्लेख छ, ‘नेपाल मजदुर किसान पार्टी र कांग्रेसका केही सांसदले विरोध गरे पनि एमाले, माओवादी र रास्वपाले समर्थन गरेपछि यो विधेयक पास भयो ! …सरकार सुइँकिँदै छ भन्ने सुइँको पाएको भए रास्वपा यो हिलोमा मुछिन्नथ्यो होला तर सत्ताको ‘टाप’ले आँखा छोपियो ।’

Advertisement

मेयर बालेन शाहले यस अघि पनि फेसबुकमार्फत एमाले अध्यक्ष ओलीलाई ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्क्याउनु होला’ भन्दै चेतावनी दिएक थिए । अध्यक्ष ओलीले झापाको गिरिबन्धुमा बैना लिनेहरूलाई ‘‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’’ भनेको उल्लेख गर्दै उनले ओलीलाई जनता नझुक्क्याउन आग्रह गरेका थिए ।

‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू,’ उनले फेसबुकमा लेखेका थिए, ‘गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’ त्यसअघि गिरीबन्धुको जग्गा सरकारले फिर्ता ल्याउनु पर्ने सर्वाेच्चको फैसलापछि पनि बालेनले ओलीले नैतिक जिम्मेवारी लिनु पर्ने बताएका थिए ।

Advertisement

एमालेले संसद्मा गिरीबन्धु टी–इस्टेटको विषयमा काठमाडौं महानगरका प्रमुखले गरेको टिप्पणीप्रति आक्रोश व्यक्त गरेको थियो । जेठ २२ को प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका सांसद योगेश भट्टराईले मेयर बालेनले अध्यक्ष ओलीलाई जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।

एमाले र कांग्रेसले अहिले नयाँ सत्ता समीकरण बनाएसँगै मेयर बालेनले ‘यो समय गिरिबन्धु चियाको हो’ भन्दै व्यङ्ग्यात्मक प्रतिक्रिया दिनुलाई गहिरो अर्थमा हेरिएको छ । पछिल्लो समय उनले एमाले र कांग्रेसका नेताको नाममा बजेट विनियोजन नगरिएपछि महानगरको नगरसभा बिथोलिएको आरोप लगाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top