२३ असार, काठमाण्डौ।
अविरल वर्षाका कारण अहिले देशभर जनधनको क्षति भइरहेको छ । बाढी, पहिरो तथा डुबानले जनजीवन जोखिमपूर्ण र कष्टकर बनिरहेको छ । यसैबीच नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ मा रहेको झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गएराति साढे ११ बजे बाढीले दुवैतर्फको पिल्लर भत्काएर पुल बगाएको हो । नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन उनको अनुरोध छ । नारायणी नदीमा पानीको सतह बढ्दा एक सय ७१ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।
प्रमुख जिल्ला अधिकारी यादवका अनुसार भरतपुर महानगरपालिका–२ का २६ जना, बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने चार जना, भरतपुर–१७ गोब्रेनीका ५४, वडा नम्बर १ देवघाटको नदी किनारमा बस्दै आएका २८ तथा वडा नम्बर १६ गुम्बाचोकका ५९ जनालाई सुक्षित ठाउँमा सारिएको छ ।
उनीहरूलाई सुरक्षाकर्मीले डुङ्गाको सहायताले सुरक्षित ठाउँमा सारेका हुन् । उता मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिका चनौटेबजारमा रहेको बेलीब्रिज जोखिममा परेको छ । बाढीले बेलीब्रिज रहेको केही भाग कटान गरेको छ । २०७८ साल साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि त्यो ठाउँमा बेलीब्रिज निर्माण गरिएको थियो ।
रातो पुल बगाएको सात महिनापछि सञ्चालनमा आएको बेलीब्रिज जोगाउने प्रयास भइरहेको छ । पुलले हेलम्बुलाई मात्र नभई मेलम्ची नगरपालिका–७ र ८, पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ र २ का बासिन्दालाई आवतजावत गर्न सहज बनाएको छ । हेलम्बु–४ को बस्ती र विद्यालयसमेत बाढीको जोखिममा रहेका छन् ।
यस्तै राप्ती नदीमा बगेर बेपत्ता भएका दाङका दुईजनाको शव फेला परेको छ । शनिबार राप्तीमा आएको बाढीले लमही नगरपालिका–७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका–८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए । उनको शव आज खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए ।
यस्तै दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान लमही नगरपालिका–७ हस्नापुर घाटबाट राप्ती नदीको बाढीमा बगेर बेपत्ता भएका राजपुर गाउँपालिका–२ बेलाका १७ वर्षीय राजकुमार यादवको पनि शव फेला परेको छ । उनको शव खोलाको बगरमा फेला परेको हो ।
यता धनकुटास्थित अरुण नदी सिम्ले जलमापन केन्द्रमा जलसतह सतर्कताले तह पार गरेको छ र बढ्दो क्रममा छ । अतः नदीतटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो ३ बजेसम्मै उच्च सतर्कता अपनाउन आवश्यक छ । यसैगरी धनकुटाकै त्रिवेणीस्थित तमोर नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ र बढ्दो क्रममा छ । त्यसैले उक्त नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आवश्यक छ ।