२४ असार , काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा कञ्चनपुरमा भएको वर्षा हालसम्मकै नेपालमा भएको सबैभन्दा ठूलो वर्षा हो । नेपालमा वर्षामापन हुन थालेयताकै सबैभन्दा धेरै वर्षा पछिल्लो २४ घण्टामा कञ्चनपुरमा भएको हो । कञ्चनपुरका विभिन्न स्वचालित वर्षामापन केन्द्रहरूमा पछिल्लो २४ घण्टामा दोधारामा ५८८ मिलिमिटर, हन्माननगरमा ५५८ मिलिमिटर र सुन्दरपुरमा ४०९ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपालमा वर्षामापन गर्न थालेको ७७ वर्षयताकै यो सबैभन्दा ठूलो वर्षा हो । कञ्चनपुरमा भएको वर्षाले हालसम्म नेपालमा भएका सबै वर्षाको रेकर्ड तोडेको छ । यसअघि नेपालमा सबैभन्दा धेरै वर्षा भएको जिल्ला मकवानपुर हो । २०१७ अगस्ट १३ मा मकवानपुरमा ५१६.२ मिलिमिटर वर्षा मापन गरिएको थियो । यो नै यसअघिको नेपालमा भएको धेरै वर्षाको रेकर्ड थियो । कञ्चनपुरको महेन्द्रनगरमा भने यसअघि सबैभन्दा धेरै वर्षा सन् २००९ मा भएको थियो ।
२००९ अक्टोबर ५ मा महेन्द्रनगर वर्षा मापन केन्द्रमा ३०९.५ मिलिमिटर वर्षा भएको विभागको तथ्यांक छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका केही स्थानमा ‘अति भारी’ वर्षा मापन गरिएको छ । कञ्चनपुरका केही स्थान र कैलालीमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, आइतबार राति सुदूरपश्चिम प्रदेशमा शक्तिशाली मौसमी प्रणाली विकसित भएको थियो ।
त्यो प्रणालीले अति भारीसम्म वर्षा भएको विभागले जनाएको छ । त्यहाँ निम्नचापीय प्रणाली विकसित भएको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । निम्नचापीय प्रणाली विकसित भएको क्षेत्रमा वायुमण्डलीय चाप कम हुन्छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार, त्यस्तो अवस्थामा वायु माथितिर जान्छ । त्यसको प्रभाव पर्छ र वरिपरिबाट जलवाष्पयुक्त हावा (बादल) आएर ‘भारी’ वर्षाको सम्भावना हुन्छ ।
कञ्चनपुरमा मनसुनकै निम्नचापीय प्रणाली विकसित भएको उनले बताएका छन् । लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढिरहेको छ । पानी २ लाख क्युसेक पुगेकाले महाकालीमा नेपाल तर्फका सबै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले बताएका छन् । नेपाल तर्फका सबै ढोका खोलेपछि तटीय क्षेत्रका बस्तीहरू प्रभावित भएका छन् ।
ती बस्तीहरूमा पानी पसेपछि अहिले पनि उद्धारको काम चलिरहेको छ। नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा तीन दिनदेखि चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । पानीले खतराको सतह नाघेपछि शनिवार साँझदेखि शारदा ब्यारेजमा रोक लगाइएको सवारीसाधनको आवागमन अझै सुचारु भएको छैन । शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चार पाङ्ग्रे सवारीसाधनमा रोक लगाउँदै आएको छ ।
अविरल वर्षासँगै आएको बाढीका कारण सुदूरपश्चिमका ५ जिल्लाको जनजीवन प्रभावित भएको छ । कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र अछामका दुई हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ । २ हजार जनालाई विद्यालय, सामुदायिक भवन र अस्थायी टेन्टमा सारिएको सुदूरपश्चिम प्रदेश प्रहरीको कार्यालयले जनाएको छ । कैलालीमा ५७८ जना, कञ्चनपुरमा ५११ परिवारका १ हजार ७३८ जना, दार्चुलामा ९९ जना र बैतडीमा १८० जनालाई डुबान क्षेत्रबाट सुरक्षित ठाउँमा सारिएको छ ।
अविरल वर्षाका कारण आएको बाढी बस्तीमा पसेपछि कञ्चनपुरबाट ३९ जनाको उद्धार गरिएको छ । घरमा बाढी पसेपछि खाटबाट लडेर पानीमा डुब्दा ७ महिने बालकको मृत्यु भएको छ । ७ महिनाका सोलु धानुकको मृत्यु भएको छ । कञ्चनपुरमा महाकाली र जोगबुडा नदि बस्तीमा पसेको छ । बेलडाँडी, भिमदत्त र दोधारा क्षेत्र धेरै प्रभावित भएको एसपी जोशीले जानकारी दिए । सोमबार दिउँसो देशभर साधारणतया बदली रहने छ।
सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।