Nepal Times
Nepal Times
3
Shares

त्रिशुलीमा बेपत्ता भएकामध्ये ५ जनाको शव भेटियो ,९० जनाको टोली खोजीमा, अझै ५७ जनाको अवस्था अज्ञात

त्रिशुलीमा बेपत्ता भएकामध्ये ५ जनाको शव भेटियो ,९० जनाको टोली खोजीमा, अझै ५७ जनाको अवस्था अज्ञात

३० असार ,काठमाण्डौ।

शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुई वटा बसहरु त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहरुमध्ये हिजो र आज गरी ५ जनाको शव भेटिएको छ । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनारमा आज विहान एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको शव खोलाबाट निकालेर भरतपुर ल्याउने तयारी गरिएको छ ।

शनिबार पनि सोही ठाँउ नजिकै दुईवटा शव भेटिएका थिए । अहिलेसम्म नारायणी नदीले बगाएका ५ वटा शव फेला परेका छन् । यसअघि आज बिहानमात्रै अर्का एक जनाको शव फेला परेको थियो भने हिजो शनिबार तीनको शव फेला परेको थियो । उनीहरूको सनाखतसमेत भइसकेको छ । हिजो भेटिएका २ जना गणपति डिलक्सका र एक जना एन्जल डिलक्सका यात्रु हुन् ।

अहिलेसम्म फेला पर्न नसकेको दुई वटा बसमा चलानीमा उल्लेख गरिएकाभन्दा १५ जना यात्रु बढी रहेको पाइएको छ । काठमाडौंबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बसमा थप ११ जना यात्रुहरुका आफन्तहरुले हराएको विवरण टिपाएका छन् । बसको चलानीमा २७ जना उल्लेख भए पनि बीचमा विभिन्न ठाउँबाट यात्रुहरु चढेको भनेर विवरण टिपाएका हुन् ।

आफन्तहरुले टिपाएको विवरण समेतलाई जोड्दा बसमा ३८ जना यात्रु रहेको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको नोटमा उल्लेख गरिएको छ । यस्तै, वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बसको चलानीमा २३ यात्रु देखिए पनि बीचबाट थप ४ जना यात्रु चढेको पाइएको छ । चलानीमा उल्लेख नभएका दुवै बसमा गरेर थप १५ यात्रु यात्रारत रहेको देखिएको हो ।

घटनामा कुल ६५ यात्रु परेको देखिएको, ती मध्ये ३ जना पौडिएर बाँच्न सफल भएको र ४ जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । तीमध्ये ३ जनाको सनाखत भएको र अर्को एक जनाको सनाखत हुन बाँकी छ । अझै ५८ जना यात्रुको अवस्था अज्ञात छ ।

आज तेस्रो दिन पनि बस खसेको स्थानबाट झण्डै १ किलोमिटर तलबाट सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाली सेनाको रसौलीस्थित विपद् व्यवस्थापन गणका तालिमप्राप्त उद्धारकर्मीहरुले बस र यात्रुको खोजी सुरु गरेका छन् । खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदीसम्म खोजी कार्यलाई निरन्तरता दिएको छ । त्यस्तै अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाइसहरूको प्रयोग गरी घटनास्थलदेखि १ किलोमिटर तल अर्थात् भरतपुर महानगरपालिका–१६ स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म खोजी कार्य गर्नेछ ।

त्यसैगरी नम्बर १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौज घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्याफ्टिङ बोट र नदी किनारामा पैदल गस्ती गर्दै खोजी कार्यको लागि परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

अविरल वर्षाको कारण नदीमा आएको भेल र धमिलो पानी गर्दा सोनार क्यामरा र अन्य डिभाइसहरूको प्रयोग गर्दा समेत बेपत्ताहरूको खोजी कार्य गर्न असहज भएको बताइएको छ । यी डिभाइसहरूले सफा पानी तथा ताल र पोखरीमा जमेको पानीमा खोजी कार्यको लागि प्रयोग गरिन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.