एजेन्सी,असाज २
एसिया कप क्रिकेट अन्तर्गत आज हुने खेलमा हङकङले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ ५ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ ।
आज हुने खेलमा हङकङलाई पराजित गरे भारत एक खेल खेल्नु अघि नै सेमिफाइनलमा प्रवेश गर्ने छ भने भारतलाई हङकङले जिते हङकङको पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै रहन्छ ।
तुलनात्मक रुपमा पाकिस्तानविरुद्ध फितलो ब्याटिङ गरेको हङकङ गल्तीलाई सच्याउँदै भारतविरुद्ध राम्रो ब्याटिङ गर्ने लक्ष्यमा रहेको छ ।
हङकङले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ८ विकेटको हार ब्यहोरेको थियो । यता, भारतको भने युएईमा जारी एसिया कपमा यो पहिलो खेल हो ।
भारतको कप्तानी रोहित शर्माले गर्दैछन् । नियमित कप्तान विराट कोहली एसिया कप नखेल्ने भएसँगै भारतको नेतृत्व रोहित शर्मालाई दिइएको हो ।
भारत र हङकङबीच अहिलेसम्म १ खेलमा मात्रै भेट भएको छ । हङकङ एसोसिएट राष्ट्र भएकै कारण पनि टेष्ट नेशन राष्ट्रसँग प्रतिस्पर्धा गर्ने अवसर विरलै पाउने गरेको छ ।
सन् २००८ मा पाकिस्तानको कराँचीमा सम्पन्न एसिया कप मै हङकङ र भारतले प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा भारत २५६ रनको भारीअन्तरले विजयी भएको थियो । त्यसबेला भारतका तत्कालिन कप्तान महेन्द्रसिंह धोनी र सुरेश रैनाले शतक बनाएका थिए ।
३७५ रनको विशाल लक्ष्य पछ्याएको हङकङ ३६.५ ओभरमा सबै विकेट गुमाउँदै ११८ रन मात्र बनाउन सकेको थियो