९ साउन , एजेन्सी ।
पेरिस ओलम्पिक–२०२४ मा आजदेखि पुरुष फुटबलतर्फका खेलहरू सुरू हुँदै छन् । ओलम्पिक फ्रान्सको पेरिसमा जुलाई २६ देखि आधिकारिक रुपमा सुरु हुने भए पनि पुरुष फुटबल भने आजदेखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिन कुल आठ खेल हुने तालिका छ । आज भने नेपाली समयअनुसार साँझ ६ः४५ बजेदेखि स्पेनले उज्वेकिस्तान र अर्जेन्टिनाले मोरोक्कोविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।
राति ८ः४५ बजेदेखि न्युजिल्यान्डले गुयना र इजिप्टले डोमिनिक गणतन्त्रविरुद्ध खेल्नेछन् । राति १०ः४५ बजेदेखि इराकले युक्रेन र जापानले पाराग्वेविरुद्ध खेल्ने तालिका छ । राति १२ः४५ बजे पनि दुई खेल हुनेछन् । जसमा फ्रान्सले अमेरिका र मालीले इजरायलविरुद्ध खेल्ने छन् । प्रतियोगिताको पुरुष फुटबलतर्फ कुल १६ टिमको सहभागिता छ ।
जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । यस ओलम्पिकमा चार नयाँ खेल ब्रेकिङ, स्पोर्ट क्लाइम्बिङ, स्केटबोर्डिङ र सर्फिङ समावेश गरिएको छ । यीमध्ये तीन खेल टोकियो ओलम्पिकमै खेलाइएका थिए । ब्रेकिङले भने ओलम्पिकमा पदार्पण गर्ने छ । यस मेगा इभेन्टमा दुई सयभन्दा बढी देशका खेलाडी ३२ खेलमा प्रतिस्पर्धाका लागि उत्रने छन ।
३० हजार स्वयंसेवक परिचालन गरिने छ । डोपिङ टेस्टका लागि मात्र छ हजार कर्मचारी हुने छन । ओलम्पिकका लागि पेरिसमा मात्रै १५ खेल स्थल तयार पारिएको छ । जहाँ ३२ मध्ये २१ खेल सञ्चालन गरिने छ । अन्य खेल पेरिस आसपासका शहरमा सञ्चालन गरिने छ । १७ दिन चल्ने खेल मेलामा ३२९ इभेन्ट्स हुने छन । यस्तै यसपटक पेरिससामु सुरक्षाका ठूलो चुनौती रहेको ठानिएको छ ।
उद्घाटन समारोहमा ड्रोन आक्रमणको चेतावनी आइरहेको छ । जसले गर्दा सरकारले सेन नदीको किनारामा आधा दर्शक घटाइसकेको छ । सुरक्षा व्यवस्थाका लागि करिब २० हजार सैनिक र ४० हजार प्रहरी परिचालन गरिने बताइएको छ । यसबाहेक अन्य देशका थप दुई हजार सैनिक र पुलिस अधिकारीहरू पनि हुने छन । राजनीतिक हिसाबले फ्रान्समा अस्थिरता छ ।
संसदीय चुनावको चटारो पनि छ । राष्ट्रपति माकरनले चुनाव जुन ३० र जुलाई ७ मा गर्ने घोषणा गरिसकेका छन् तर आइओसीले यसको प्रभाव ओलम्पिकमा नपर्ने बताइसकेको छ । यसैबीच ३३औँ गृष्मकालीन ओलम्पिकको मार्च पासमा नेपालको झन्डा टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्ने भएका छन ।
स्यान्टु क्षेत्रीय तथा मनिता महादेशीय छनोटबाट ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेका हुन । टेबलटेनिसकी स्यान्टु छनोट चरण पार गरी ओलम्पिकमा स्थान बनाउने तेस्रो नेपाली खेलाडी हुन । टेबलटेनिसबाट ओलम्पिक खेल्ने उनी पहिलो नेपाली खेलाडी हुन । स्यान्टुअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरी ओलम्पिक खेलेका थिए ।
संगिनाले सन् २००४ को एथेन्स, दीपकले सन् २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए । पेरिस ओलम्पिकमा झन्डा बोक्ने जुडोकी मनिता वाइल्डकार्डबाट छनोट भएकी हुन । ओलम्पिकमा नेपालबाट सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन । ब्याडमिन्टका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन । प्रिन्स, सुस्मिता र मनिता पछिल्लो दुई वर्षदेखि नेपाल ओलम्पिक कमिटीको ओलम्पिक सोलिडारिटीअन्तर्गत छात्रवृत्ति प्राप्त खेलाडी हुन ।