काठमाडौं,असोज २
मुस्ताङस्थित १३.६ मेगावाटको थापाखोला जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द हुँदा १ महिनामा साढे ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
गत साउन २६ गते आएको बाढीले जलविद्युत केन्द्रको बाँध क्षेत्रमा क्षति पुर्याउँदा उत्पादन बन्द भएपछि प्रवद्र्धक माउन्ट कैलाश इनर्जी कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी गुमेको हो ।
बाढीले पुरेका तथा भत्काएका संरचनामा सरसफाईको काम सुरु गरिएको कम्पनीका अध्यक्ष भरत खड्काले बताए । संरचनाको सरसफाईपछि मात्रै बाढीले पुर्याएको क्षतिको पूर्ण विवरण आउने उनले बताए । बाढीले क्षतिग्रस्त संरचनाको पुुनर्निर्माण गरेर विद्युतगृह सञ्चालन गर्न ३ महिना लाग्ने भएको छ ।
जलविद्युत केन्द्रको बीमा गरिएकाले बीमा दाबी रकमले संरचनाको पुनर्निर्माणमा सहयोग हुने कम्पनीले जनाएको छ । यो वर्ष मुस्ताङमा धेरै वर्षा भएकाले हिलाम्य सडकका कारण समयमा काम सुरु गर्न नपाएको खड्काले बताए । इन्धन अभावले ठूला मेसिन सञ्चालन गर्न नपाउँदा बाँध क्षेत्रको पुनर्निर्माण सुरु गर्न ढिलाई भएको उनको भनाई छ ।
गत साउन अन्तिम साता आएको बाढीले बाँध क्षेत्रको इन्टेक गेट, डिसेन्डर,अन्डर स्युइसलगायत संरचनामा क्षति पुर्याएको थियो । जलविद्युतगृहबाट उत्पादन बन्द भएकोबारे ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र विद्युत विकास विभागलाई जानकारी गराएको कम्पनीले जनाएको छ ।
बाँध क्षेत्रमा बाढी पस्नुुअघि जलविद्युत केन्द्रले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्दै आएको थियो । २ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको जलविद्युत केन्द्रले वार्षिक ६९.३३ गिगावाट घन्टा विद्युत उत्पादन गर्दछ । (उर्जा खबरबाट)