१० साउन, काठमाण्डौ ।
आधुनिक उपकरणले सुसज्जित देशकै सबैभन्दा सुविधासम्पन्न र सर्वाधिक सुरक्षित मानिएको विमानस्थल हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ।
त्रिभुवन विमानस्थलसँग अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका अत्याधुनिक उपकरण र पर्याप्त जनशक्तिसमेत छन् । तर नेपालमा भएकामध्ये सबैभन्दा उत्कृष्ट यही विमानस्थलमा नै सबैभन्दा धेरै दुर्घटना भएका छन् ।
यी मध्येको एक ठूलो दुर्घटना हो बुधबारको सौर्य एयरलाइन्सको दुर्घटना । विमानस्थलको डिलमै भएका हवाई दुर्घटनामध्ये एउटा दुर्घटना मात्रै मानवीय क्षति हुनबाट जोगिएको थियो ।
त्रिभुवन विमानस्थलमा पहिलो ठूलो दुर्घटना १४ जनवरी १९९५ मा भएको थियो । त्यसवेला तत्कालीन शाही नेपाल वायुसेवा निगमको जहाज दुर्घटना हुँदा दुईजनाको ज्यान गएको थियो भने २३ घाइते भएका थिए ।
त्यस्तै, २१ अप्रिल २००४ मा बुद्ध एयरको जहाज दुर्घटनामा एकको मृत्यु भएको थियो । ४ मार्च २०१५ मा टर्किस एयरको वाइडबडी अवतरणका क्रममा रनवेभन्दा बाहिर जाँदा दुर्घटनामा प¥यो ।
विमानमा सवार २३५ यात्रु घाइते भएका थिए । उक्त दुर्घटनामा मानवीय क्षति भने हुन पाएन । जहाज धावनमार्गमा अड्किँदा चार दिनसम्म विमानस्थल बन्द भएको थियो ।
त्यस्तै, मार्च २०१८ मा बंगलादेशबाट आएको युएस–बाङ्ला एयरलाइन्सको जहाज पनि अवतरणका क्रममा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा चालक दलसहित ७१ यात्रुमध्ये ५१ जनाको ज्यान गएको थियो ।
यो विमानस्थलमै भएका दुर्घटनामध्ये सबैभन्दा ठूलो दुर्घटना हो । पछिल्लोपटक दोस्रो ठूलो मानवीय क्षति भएको ९ साउन ०८१को सौर्य एयरको जहाज दुर्घटना हो ।
जहाँ एकजना घाईते भएका छन् भने १८ जनाको ज्यान गएको छ । बुधबार सौर्य एयरलाइन्ससहित नेपालमा हालसम्म ६१ हवाई दुर्घटना भएका छन् । यी दुर्घटनामा ९१५ को ज्यान गएको छ ।
सन् १९५५ यता यात्रुको ज्यान जाने गरी ३६ आन्तरिक र आठ अन्तर्राष्ट्रिय विमान तथा १७ हेलिकोप्टर दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांक रहेको छ ।
करिब डेढ महिनाअघि २८ जेठ २०८१ का दिन त्रिभुवन विमानस्थलमा फुल रेस्क्यु इमर्जेन्सी अभ्यास गरियो । अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत दमकल, एम्बुलेन्स र चिकित्सा टिमको सहभागिता थियो ।
अभ्यासका क्रममा कुनै काल्पनिक स्थानबाट उडेको विमानमा इन्जिन खराब भई दुर्घटनाग्रस्त भएको क्षणको उद्धार कार्यलाई देखाइएको थियो । रेस्क्यु हेर्दा लाग्दथ्यो विमानस्थल आसपास कुनै पनि दुर्घटना भए क्षति नै नहुने गरी उद्धार हुने रहेछ ।
घटनास्थल र प्रकृति उस्तै थियो । अभ्यासमा पनि काल्पनिक विमानमा आगो लागेको थियो अनि वास्तविकतामा पनि विमानमा आगो लागेको थियो । जहाज दुर्घटनामा सबैभन्दा जोखिम आगोको हुन्छ । आगोसँग जुध्न व्यक्ति एक्लैले पक्कै सक्दैन ।
यसका लागि कार्ययोजना र प्रविधि आवश्यक पर्दछ । तर तिनको प्रयोगले समेत काल्पनिक दुर्घटनाको अभ्यासमा जस्तो प्रभावकारी उद्धार बुधबारको वास्तविक दुर्घटनामा देखिएन ।
फेरि काल्पनिक अभ्यासमा जस्तो सरोकारवालाहरुको मात्रै उपस्थिती वास्तविक दुर्घटनामा देखिएन । विमानस्थलभित्र पनि सर्वसाधारणदेखि भीआईपीहरुको जमघटले अर्काे सकस निम्ताएको थियो ।
हरेक वर्ष २० लाख रुपैयाँसम्म खर्च गरिने यस्तो अभ्यासको वास्तविक दुर्घटना प्रभावकारी नदेखिएपछि यी अभ्यासको औचित्यमाथि नै प्रश्न उठाएको छ ।
विमानस्थलको फेन्सिङबाहिरबाट हेरिरहेका प्रत्यक्षदर्शीहरु भनिरहेका छन् जहाज खसेपछि कतिपय यात्रु छट्पटाएको स्पष्ट देखिन्थ्यो । तर, नत उनीहरु विमानस्थल पुग्न सके नत उद्धार टोली नै पुग्यो ।
प्रत्यक्षदर्शीले हेर्दा विमानमा आगो लागेकै थिएन भने उद्धारटोली पुग्दा विमानबाट आगोको ठूलो मुस्लो निस्किसकेको थियो । त्रिभुवन विमानस्थलमा फायर फाइटिङ र रेस्क्यु टिममाथि प्रश्न उठेको यो पहिलो पटक भने होइन ।
यसअघि २०७४मा बंगलादेशबाट काठमाडौं आएको यूएस बंगला जहाज दुर्घटनाको अवस्था पनि यस्तै थियो ।जुन दुर्घटनापछि भएको आगलागीमा ५१ जनाको ज्यान गएको थियो ।
जबको २० जनाको सकुशशल उद्धार गरिएको थियो । त्रिभुवन विमानस्थल फायर फाइटिङ क्याटागोरीमा ९ औं स्थानमा आउँछ ।अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको वर्गीकरणमा सबैभन्दा सुविधा सम्पन्न विमानस्थललाई १० औं क्याटागोरीमा राखिन्छ ।
त्यो भन्दा एक स्थान तल त्रिभुवन विमानस्थल आउँछ । यस हिसाबले त्रिभुवन विमानस्थल सुरक्षित विमानस्थलभित्र पर्छ ।
तर, दुर्घटना र दुर्घटनापछिको उद्धारमा देखिन नसकेको तत्परताले विमानस्थलभित्र रहेको फायर फाइटिङको क्षमता र हरेक वर्ष हुने विमान दुर्घटना उद्धार अभ्यासमाथि भने प्रश्न उठिरहेको छ ।