११ साउन, विराटनगर ।
कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिपछि सबै प्रदेशबाट माओवादी बाहिरिसक्दा पनि कोशीमा भने सरकारमै रहेको माओवादीका एकजना राज्यमन्त्रीसहित ४ जना मन्त्रीले शुक्रबार राजीनामा दिएका हुन् ।
भौतिक पूर्वाधारमन्त्री गणेश उप्रेती, स्वास्थ्मन्त्री राजेन्द्र कार्की, पर्यटनमन्त्री नारायण बुर्जा मगर र पर्यटन वन तथा वातावरण राज्यमन्त्री वन्दना झाँगले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।
मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले तत्काल कार्की सरकारमाथिको समर्थन फिर्ता नलिने भएको छ । शुक्रबारै बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको दलका नेता इन्द्रबहादुर आङ्वोले बताए ।
नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत भैसकेको र राजीनामा दिएका मन्त्रीहरुले रिक्त रहेको मन्त्रालय मुख्यमन्त्री हिक्मत कार्कीले नै हेर्ने गरि सिफारिस गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बिक्रम लुईटेलले जानकारी दिएका छन् ।