१४ साउन ,काठमाण्डौ।
पोखरामा आज विहानै विद्यार्थी बोकेको एउटा बस दुर्घटनामा परेको छ । जसमा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनीहरु पोखरा २१ कै हुन् । दुर्घटनामा परेर दुई दर्जन बढी घाइते भएका छन् ।
कास्की प्रहरीले बसमा सवार २२ विद्यार्थीसहित अन्य केही घाइते भएको बताएको छ । आज बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो ।
चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । सो बस पोखरा २१ बाट विद्यार्थी बोकेर पोखरा १७ मा रहेको विद्यालयतर्फ आउँदै थियो ।
घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।