२९ साउन, विराटनगर । कोशी प्रदेशमा साउन अन्तिम सातासम्ममा धान रोपाइँ करिब–करिब अन्तिम चरणमा पुगेको छ । कृषि विकास निर्देशनालय, कोशी प्रदेशको साउन २७ गतेको तथ्यांकअनुसार प्रदेशमा ९८.१७ प्रतिशत धान रोपाइँ भएको छ ।
निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीका अनुसार धान उत्पादन हुने कुल क्षेत्रफलको ९८.१७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।
यो समयसम्मको आँकडा हेर्दा अघिल्लो वर्षको भन्दा धेरै रोपाइँ हो । अघिल्लो वर्ष साउनको अन्तिम सातासम्ममा ९३.९५ प्रतिशत रोपाइँ भएको थियो ।
कोशी प्रदेशमा दुई लाख ७६ हजार ३८६.७२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । त्यसमध्ये अहिलेसम्म दुई लाख ७१ हजार ३४२.०२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो ।
प्रदेशको तराईका जिल्लामा ९९.१४ प्रतिशत, मध्यपहाडमा ९१.९२ प्रतिशत र उच्च पहाडमा ९५.१४ प्रतिशत स्थानमा रोपाइँ भएको छ ।