३ भदौ , काठमाण्डौ।
आइतबार राती फेरि एउटा नेपाली परिवारमाथि पहिरोको बज्रपात परेको छ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा पहिरोले घर पुरिँदा एकै परिवारको चार जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले विरा धामीको घर पुरिँदा चारै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका बुङ्गलका सई वीरसिंह ठगुन्नाका अनुसार पहिरोले घर पुरिँदा दुई बालिकासहित चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराकी पत्नी अन्दाजी ५५ वर्षीया काली धामी, विराकी जेठी बुहारी २८ वर्षीया गोल्की धामी, गोल्कीका जेठी छोरी ६ वर्षीया आशिका धामी र गोल्कीकै कान्छी छोरी वर्ष ३ की लक्ष्मी धामी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चारै जनाको शव घरभित्र पुरिएको अवस्थामा फेला परेको थियो । बिहान ७ बजे घरभित्र च्यापिएका ४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।
पहिरोले ५ वटा बाख्रा पनि च्यापिएका छन् । विरासहित १० जनाको परिवारका अन्य ५ जना सकुशल रहेका छन् । प्रहरीकाअनुसार राति करीब साढे १ बजेको समयमा एक्कासि वीरबहादुर धामीको घरमाथिबाट पहिरो गएको थियो । पहिरो गएको थाहा पाएपछि ६२ धामीसहितका ६ जना भागेर ज्यान जोगाउन सफल भएका हुन् । स्थानीय १६ वर्षीया कमला धामी, ३० वर्षीय उज्ज्वल धामी,१० वर्षीय रोशन धामी, २० वर्षीया शान्ति धामी र ७१ वर्षीय अम्बादत्त जोशी भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।
घाइते भएका उनीहरूको स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको छ । यस्तै जाजरकोटको नलगाड नगरपालिका–२, माझगाउँमा सोमबार बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ । नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनीषा परियार र उनीहरूका दुई वर्षीय छोरा शिभम परियारको मृत्यु भएको हो ।
नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतका अनुसार, उनीहरू भूकम्पपीडितका निम्ति निर्मित अस्थायी टहरामा बसेका थिए । इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगर प्रमुख रावतले बताए । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीनजिकै छ ।
यसैबीच गएको शुक्रवार सोलुखुम्बुको थामे खोलामा भेलबाढी आउँदा हराएका व्यक्ति फेला परेका छन् । बाढी आएपछि हराएका ५५ वर्षीय निमानुरु शेर्पा आफ्नै घरमा थुनिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सुन्न र बोल्न नसक्ने शेर्पा भेलबाढीका कारण घरभित्र थुनिएपछि निस्कन र कसैलाई बोलाउन पनि नसकेका कारण भेटिएका थिएनन् ।
बाढी आउनुअघि कसैले घाँस काट्न गएको देखेको र कसैले लुगा बोकेर हिँडिरहेको देखेको बताएपछि अन्यत्र खोजी भएको थियो । तर हिजो उनी घरभित्रै बसिरहेको अवस्थामा सकुशल भेटिएका हुन् । थामे खोलाको बाढीपछि स्थलगत अध्ययनमा गएको टोलीले अन्य हिमतालको जोखिमबारे अध्ययन गर्न सुझाव दिएको छ ।
घटनास्थलमा पुगेर काठमाण्डौ फर्किएका रक्षामन्त्री मानवीर राईसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्षतिको विस्तृत विवरणसहित सम्भावित जोखिमको अवस्थाबारे विज्ञ टोलीबाट अध्ययन हुनुपर्ने भन्दै स्थलगत प्रतिवेदन दिएको हो । हिमताल फुटेपछिको बाढी र पहिरोका कारण १७ घर र एक विद्यालय क्षतिग्रस्त भएको थियो । दिउँसोको समयमा घटना भएकोले मानवीय क्षति हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ ।